विदेशी एयरलाइन्स उक्लिँदा नेपाल एयरलाइन्स किन संकटमा ?

insight dainik

काठमाडौं । कुनै समय नेपालको आकाशमा राष्ट्रिय ध्वजावाहकको बलियो उपस्थिति थियो । तर नेपालकै बजारमा उडान गर्ने उहि समयमा स्थापित विदेशी वायुसेवा कम्पनीहरू विस्तार र प्रतिस्पर्धामा अघि बढ्दै जाँदा नेपाल वायुसेवा निगम भने ऋण, जहाज अभाव र जनशक्ति संकटमा फस्दै गएको देखिन्छ ।

नेपाल वायुसेवा निगमका निमित्त महाप्रबन्धक जनकराज कालाखेतीका अनुसार निगमको सबैभन्दा ठूलो समस्या उच्च ब्याजदर र ठूलो ऋणको भार हो । कर्मचारी सञ्चय कोष र नागरिक लगानी कोषबाट लिइएको ऋणको ब्याजदर करिब ९.५ देखि १०.५ प्रतिशतसम्म रहेको र कोभिडकालको ब्याजसमेत जोडिँदा निगममाथि करिब ७ अर्ब रुपैयाँ थप भार परेको उनको भनाइ छ ।

यससँगै जहाज विस्तारमा भएको ढिलाइले निगमको प्रतिस्पर्धात्मक क्षमता कमजोर बनेको छ । कालाखेतीका अनुसार नेपालमा करिब १२० देखि १३५ अर्ब रुपैयाँको हवाई बजार रहे पनि निगमको हिस्सा करिब १५–१६ प्रतिशतमा सीमित छ । करिब १८ अर्ब रुपैयाँ बराबरको कारोबार गरिरहेको निगमले ठूलो बजारको पर्याप्त हिस्सा लिन सकेको छैन ।

अर्कोतर्फ, विदेशी वायुसेवा कम्पनीहरूले नयाँ जहाज, थप गन्तव्य र प्रतिस्पर्धी सेवामार्फत नेपाली यात्रु तथा अन्तर्राष्ट्रिय बजारमा आफ्नो उपस्थिति विस्तार गरिरहेका छन् । यसको प्रत्यक्ष प्रभाव नेपालको हवाई बजारबाट हुने आम्दानीमा परेको निगमको बुझाइ छ ।

मानव संसाधनको समस्या पनि गम्भीर बनेको छ । सेवासुविधाप्रति असन्तुष्टि जनाउँदै वाइडबडीका पाँच जना क्याप्टेनले राजीनामा दिएको निगमले जनाएको छ । उनीहरूको राजीनामा स्वीकृत भए वाइडबडी सञ्चालनमै समस्या आउन सक्ने चेतावनी दिइएको छ ।

वाइडबडीका रोल्स–रोयस इन्जिनको मर्मतका लागि निकालिएको टेन्डरमा बैंक ग्यारेन्टीसम्बन्धी प्रावधानका कारण कम्पनीहरूले रुचि नदेखाएको निगमको भनाइ छ ।

यसरी हेर्दा नेपाल एयरलाइन्सको समस्या केवल जहाज थप्ने विषयमा सीमित देखिँदैन । ऋण व्यवस्थापन, जनशक्ति टिकाउने क्षमता, खरिद प्रक्रिया, व्यवस्थापकीय सुधार र दीर्घकालीन व्यावसायिक रणनीति एकसाथ सम्बोधन गर्नुपर्ने अवस्था देखिएको छ । निगमका अधिकारीहरूले पनि सरकारी हस्तक्षेपसँगै कर्पोरेट पुनर्संरचनाको आवश्यकता औंल्याएका छन् ।

प्रतिक्रियाहरू (०)

कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया पोस्ट गर्नुहोस्!

आफ्नो प्रतिक्रिया छोड्नुहोस्