सार्वजनिक सवारीमा अब अनिवार्य हुँदैछ अग्निनियन्त्रक यन्त्र

insight dainik

काठमाडौं । काठमाडौं उपत्यकामा सञ्चालन हुने सार्वजनिक यात्रुवाहक सवारीसाधनमा अग्निनियन्त्रक यन्त्र (फायर एक्स्टिङ्गुइसर) अनिवार्य गर्ने तयारी गरिएको छ। यात्रु सुरक्षालाई थप प्रभावकारी बनाउन काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले सार्वजनिक सवारीको नियमित अनुगमन तथा जाँचलाई कडाइ गर्ने तयारी गरेको हो।

ट्राफिक प्रहरीले सार्वजनिक सवारीसाधनको अवस्था, आवश्यक कागजात, रुट परमिट तथा यात्रु सुरक्षासँग सम्बन्धित उपकरणको नियमित निरीक्षण गर्ने जनाएको छ। रुट परमिट लिएर तोकिएको मार्गमा सञ्चालन हुनुपर्ने व्यवस्था भए पनि आवश्यक कागजातबिना वा स्वीकृत मार्गभन्दा बाहिर सवारी सञ्चालन भइरहेको गुनासो आउने गरेको प्रहरीको भनाइ छ।

काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक सुरेशप्रसाद काफ्लेले सबै सार्वजनिक यात्रुवाहक सवारीमा अग्निनियन्त्रक यन्त्र अनिवार्य गर्ने तयारी भइरहेको बताए। उनका अनुसार विद्युतीय तथा प्राविधिक समस्या, इन्धन चुहावटलगायत कारणले सवारीसाधनमा जुनसुकै बेला आगलागी हुन सक्ने भएकाले सुरुवाती अवस्थामै आगो नियन्त्रण गर्न यस्तो उपकरण आवश्यक हुन्छ।

उनले सार्वजनिक सवारीमा राखिने अग्निनियन्त्रक यन्त्र प्रयोगयोग्य र सही अवस्थामा हुनुपर्ने बताए। नियम लागू भएपछि निरीक्षणका क्रममा उपकरण नभएका वा प्रयोग गर्न नमिल्ने अवस्थामा रहेका सवारीमाथि कारबाही गरिने तयारी छ।

ट्राफिक प्रहरीका प्रवक्ता नरेशराज सुवेदीका अनुसार सार्वजनिक सवारीको अवस्था, चालकको दक्षता, आवश्यक कागजात, रुट परमिट तथा अग्निनियन्त्रक यन्त्रको अवस्था र प्रयोगयोग्यतासमेत नियमित रूपमा जाँच गरिनेछ।

विशेषगरी दसैंलगायत चाडपर्वका समयमा यात्रुको चाप र सार्वजनिक सवारीको आवागमन बढ्ने भएकाले सुरक्षा मापदण्डको प्रभावकारी कार्यान्वयन आवश्यक रहेको प्रहरीले जनाएको छ।

ट्राफिक प्रहरीले सार्वजनिक सवारीका सञ्चालक तथा धनीलाई विद्यमान कानुनी व्यवस्था र सुरक्षा मापदण्ड पूर्ण रूपमा पालना गर्न तथा सवारीको नियमित मर्मतसम्भार र सुरक्षा जाँच गर्न आग्रह गरेको छ।

प्रतिक्रियाहरू (०)

कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया पोस्ट गर्नुहोस्!

आफ्नो प्रतिक्रिया छोड्नुहोस्