सांसदले उठाएका विषयको अनुगमन गर्न ‘डिजिटल संसद’ बनाउने तयारी

insight dainik

काठमाडौं । प्रतिनिधिसभालाई प्रविधिमैत्री बनाउँदै सांसदहरूले सदनमा उठाएका विषयको डिजिटल माध्यमबाट सम्बन्धित निकायसम्म जानकारी पुर्‍याउने र त्यसको कार्यान्वयन अवस्थासमेत अनुगमन गर्ने प्रणाली विकास गर्ने तयारी अघि बढाइएको छ।

प्रतिनिधिसभाको कार्यव्यवस्था परामर्श समितिको मंगलबार बसेको बैठकमा ‘डिजिटल संसद’को अवधारणाबारे छलफल भएको हो। सिंहदरबारस्थित कार्यव्यवस्था परामर्श समितिको सभाकक्षमा भएको बैठकमा डिजिटल प्रणाली विकास तथा त्यसको कार्यान्वयनका विषयमा छलफल गरिएको थियो।

प्रस्तावित प्रणालीमार्फत सांसदहरूले शून्य समय, विशेष समय र आकस्मिक समयमा उठाएका प्रश्न तथा विषयलाई डिजिटल रूपमा सम्बन्धित मन्त्रालय र सरकारी निकायसँग जोड्ने योजना छ। यसबाट सांसदले सदनमा उठाएको विषय सम्बन्धित निकायसम्म पुगेको वा नपुगेको जानकारी लिन सहज हुने अपेक्षा गरिएको छ।

त्यस्तै, सांसदहरूले उठाएका विषयमा सरकारले के निर्णय गर्‍यो, त्यसको कार्यान्वयन कहाँसम्म पुग्यो र समस्या समाधान भयो कि भएन भन्ने विवरणसमेत डिजिटल प्रणालीमार्फत अभिलेख तथा अनुगमन गर्न सकिने व्यवस्था प्रस्ताव गरिएको छ।

सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टीका प्रमुख सचेतक प्रकाशचन्द्र परियारका अनुसार कार्यव्यवस्था परामर्श समितिमा अहिले विशेष रूपमा डिजिटल संसदको अवधारणामाथि छलफल भइरहेको छ। उनका अनुसार यस विषयमा छलफल जारी रहेको छ।

डिजिटल संसदको अवधारणा कार्यान्वयनमा आएमा संसदमा उठाइएका विषयलाई केवल अभिलेखमा सीमित नराखी सम्बन्धित सरकारी निकायको जवाफ, निर्णय र प्रगतिको अवस्थासमेत व्यवस्थित रूपमा हेर्न सकिने अपेक्षा गरिएको छ।

प्रतिक्रियाहरू ()

कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया पोस्ट गर्नुहोस्!

आफ्नो प्रतिक्रिया छोड्नुहोस्