फ्रिज विस्फोटपछि घरमा भीषण आगलागी, एकै परिवारका चार जनाको मृत्यु

insight dainik

बेङ्गलुरु । भारतको कर्नाटक राज्यस्थित बेलगावीमा फ्रिज विस्फोटपछि घरमा लागेको भीषण आगलागीमा परी एकै परिवारका चार जनाको मृत्यु भएको छ। घटनामा अन्य दुई जना गम्भीर घाइते भएका छन्।

बेलगावीको सेन्ट्रल बसस्ट्यान्डनजिकै रहेको चावट गल्लीमा सोमबार राति घटना भएको हो। घरमा गणेश चतुर्थी मनाइरहेका बेला अचानक फ्रिज विस्फोट भएको र त्यसपछि आगो फैलिएको प्रारम्भिक विवरणमा उल्लेख छ।

आगो केही मिनेटमै घरभरि फैलिँदा घरभित्र रहेका परिवारका सदस्यहरू बाहिर निस्कन नपाई फसेका थिए। घटनामा ६५ वर्षीय गजानन डामोने, ४५ वर्षीया शारदा डामोने, ५० वर्षीया भारती डामोने र २१ वर्षीय रोशन डामोनेको मृत्यु भएको प्रहरीले जनाएको छ।

आगलागीमा २८ वर्षीया प्रिया डामोने र २५ वर्षीया गंगा डामोने गम्भीर घाइते भएका छन्। उनीहरूलाई उद्धार गरी अस्पताल पुर्‍याइएको छ र उपचार भइरहेको छ।

घटना बजार प्रहरी चौकीको कार्यक्षेत्रमा भएको हो। आगलागीका कारण घरभित्र केही समयमै अत्यधिक तापक्रम र धुवाँ भरिएपछि परिवारका सदस्यहरूलाई उद्धार गर्न कठिन भएको बताइएको छ।

यद्यपि फ्रिजमा वास्तवमै के कारणले विस्फोट भयो भन्ने अहिलेसम्म यकिन भएको छैन। प्रहरीका अनुसार घटनाको अनुसन्धान भइरहेको छ। फ्रिजको विद्युतीय प्रणालीमा आएको खराबी, ग्यास वा अन्य प्राविधिक कारणलगायत सम्भावित पक्षबारे अनुसन्धानपछि मात्रै दुर्घटनाको वास्तविक कारण खुल्नेछ।

गणेश चतुर्थीको उत्सव मनाइरहेको समयमा भएको यस घटनाले स्थानीय बासिन्दालाई स्तब्ध बनाएको छ। एउटै परिवारका चार जनाको ज्यान गएपछि आफन्त तथा स्थानीय समुदाय शोकमा डुबेको भारतीय सञ्चारमाध्यमले जनाएका छन्।

प्रतिक्रियाहरू ()

कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया पोस्ट गर्नुहोस्!

आफ्नो प्रतिक्रिया छोड्नुहोस्