काठमाडौं । विश्वको जलचक्र पछिल्लो समय झन् अनियमित बन्दै गएको र कतै अत्यधिक पानी त कतै गम्भीर पानी अभावको अवस्था देखिन थालेको संयुक्त राष्ट्रसंघले जनाएको छ। विश्व मौसम विज्ञान संगठन (डब्लूएमओ) ले बिहीबार सार्वजनिक गरेको विश्वव्यापी जलस्रोतसम्बन्धी वार्षिक प्रतिवेदनले जलचक्रमा देखिएको असन्तुलनप्रति चिन्ता व्यक्त गरेको हो।
प्रतिवेदनअनुसार सन् २०२५ विश्वका नदीहरूका लागि तीन दशकभन्दा बढी समययताकै सुख्खा वर्षमध्ये एक रह्यो। सोही वर्ष विश्वका अधिकांश क्षेत्रमा हिमनदीहरू खुम्चिएका छन् भने धेरै स्थानमा भूमिगत पानीको मात्रा पनि वर्षौंदेखि घटिरहेको पाइएको छ।
डब्लूएमओका अनुसार पृथ्वीमा रहेको ताजा पानीको भण्डारमा भूमिगत पानी, नदी, ताल, माटोको चिस्यान, वनस्पति तथा हिउँ र बरफ समावेश हुन्छन्। यी स्रोतमा देखिएको समग्र गिरावटले पानीको दीर्घकालीन सुरक्षामाथि प्रश्न उठाएको छ।
डब्लूएमओकी महासचिव सेलेस्टे साउलोले भूमिगत पानी र हिमनदीलाई पृथ्वीको ‘बचत खाता’सँग तुलना गर्दै ती स्रोत तीव्र रूपमा घटिरहेको बताइन्। उनका अनुसार यस्ता दीर्घकालीन जलस्रोतले खडेरी वा सुख्खा मौसमका बेला पानीको संकट कम गर्न महत्वपूर्ण भूमिका खेल्ने भए पनि अहिले ती सञ्चित स्रोत नै घटिरहेका छन्।
सन् २०२३ देखि २०२५ सम्म विश्वका हिमनदीले करिब १ हजार ४ सय गिगाटन पानी बराबरको बरफ गुमाएको प्रतिवेदनमा उल्लेख छ। यो मात्रा ५६ करोड ओलम्पिक आकारका पौडी पोखरी भर्न आवश्यक पर्ने पानी बराबर हो।
प्रतिवेदनले सन् २०२५ मा विश्वका नदी बेसिनमध्ये करिब ३६ प्रतिशतमा मात्र सामान्य बहाव रहेको जनाएको छ। त्यति नै प्रतिशतमा सामान्यभन्दा कम र २१ प्रतिशतमा सामान्यभन्दा बढी बहाव देखिएको थियो।
यसैबीच, बलियो बन्दै गएको एल निनोले आगामी दिनमा केही क्षेत्रमा खडेरी र अन्य क्षेत्रमा बाढीको जोखिम बढाउन सक्ने डब्लूएमओले चेतावनी दिएको छ। जलचक्रमा आएको परिवर्तन बुझ्न साझा तथ्यांक, मापदण्ड र पूर्वसूचना प्रणाली आवश्यक रहेको संगठनले जनाएको छ।
प्रतिक्रियाहरू (०)
कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया पोस्ट गर्नुहोस्!
आफ्नो प्रतिक्रिया छोड्नुहोस्