अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प प्रशासनले इजरायललाई करिब २.८ अर्ब अमेरिकी डलर बराबरका २ हजार पाउन्ड क्षमताका बम बिक्री गर्ने तयारी गरेको छ। यो पछिल्ला केही वर्षमा एकैपटक प्रस्ताव गरिएको सबैभन्दा ठूलो बम बिक्रीमध्ये एक हुने बताइएको छ।
अल जजीराले द वासिङ्टन पोस्ट र एएफपीलाई उद्धृत गर्दै जनाएअनुसार प्रस्तावित प्याकेजमा करिब ४० हजार वटा २ हजार पाउन्डका बम समावेश छन्। तीमध्ये २० हजार एमके–८४ सामान्य प्रयोजनका बम र २० हजार बीएलयू–११७ बम रहेका छन्। साथै, जमिनमुनि रहेका वा कडा संरचनालाई लक्षित गर्न प्रयोग हुने आई–२००० पेनेट्रेटर वारहेड पनि प्याकेजमा समावेश गरिएको छ।
यो बिक्री अमेरिकी विदेशी सैन्य वित्तीय सहयोगअन्तर्गत हुने बताइएको छ। उक्त व्यवस्थामा अमेरिकाले इजरायललाई सैन्य सामग्री खरिद गर्न रकम उपलब्ध गराउँछ र त्यसबाट अमेरिकी हतियार खरिद गरिन्छ।
प्रस्तावित बिक्रीबारे अमेरिकी संसद्का सम्बन्धित समितिलाई अनौपचारिक रूपमा जानकारी गराइसकिएको छ। अमेरिकी विदेश मन्त्रालयले भने औपचारिक रूपमा संसदमा सूचना पठाउनुअघि प्रस्तावित हतियार बिक्रीबारे टिप्पणी नगर्ने जनाएको छ।
यसैबीच, अमेरिकी संसद्मा प्रस्तावित बिक्रीको विरोध पनि देखिएको छ। हाउस अफ रिप्रेजेन्टेटिभ्सको विदेश मामिला समितिका वरिष्ठ डेमोक्र्याट सदस्य ग्रेगरी मिक्सले इजरायलले यी हतियार अन्तर्राष्ट्रिय कानुनअनुसार र सर्वसाधारणको सुरक्षालाई ध्यानमा राखेर प्रयोग गर्ने पर्याप्त सुनिश्चितता नदिएको भन्दै हालका लागि बिक्री स्वीकृत नगर्ने बताएका छन्।
सेनेटर क्रिस भान होलेनले पनि बिक्री रोक्न पहल गर्ने बताएका छन्। अमेरिकी संसद्का प्रमुख सदस्यहरूको अनौपचारिक समीक्षा प्रक्रिया पूरा भएपछि मात्र यस्तो ठूलो हतियार बिक्री औपचारिक रूपमा अगाडि बढ्ने गर्छ।
इजरायलले गाजा र लेबनानमा यसअघि पनि ९०७ किलोग्रामका बम प्रयोग गरेको र त्यसलाई लिएर नागरिक क्षतिसम्बन्धी अन्तर्राष्ट्रिय आलोचना हुँदै आएको छ। सन् २०२४ मा तत्कालीन राष्ट्रपति जो बाइडेन प्रशासनले नागरिक क्षतिको चिन्ताका कारण यस्तै बमको एउटा खेप रोकेको थियो। ट्रम्प प्रशासनले भने सन् २०२६ को सुरुवातमा उक्त रोक हटाएको थियो।
प्रतिक्रियाहरू (०)
कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया पोस्ट गर्नुहोस्!
आफ्नो प्रतिक्रिया छोड्नुहोस्