बिरामी कुकुरलाई नदीमा फालेको आरोपमा बझाङकी महिला पक्राउ

insight dainik

बझाङ । बिरामी कुकुरलाई जीवितै सेती नदीमा फालेको आरोपमा प्रहरीले बझाङमा एक महिलालाई पक्राउ गरेको छ। जयपृथ्वी नगरपालिका–१० चैनपुरकी ४२ वर्षीया विमलादेवी रोकायालाई प्रहरीले पक्राउ गरेको हो।

जिल्ला प्रहरी कार्यालय बझाङका अनुसार रोकायाले चैनपुरस्थित पानकोट पुलबाट कुकुरलाई सेती नदीमा फालेकी थिइन्। घटनाबारे जानकारी पाएपछि प्रहरीले उनलाई नियन्त्रणमा लिएर अनुसन्धान अघि बढाएको जनाएको छ।

प्रहरीका अनुसार उक्त कुकुर करिब दुई सातादेखि बिरामी थियो। उसको शरीरको पछाडिको भागमा घाउ हुनुका साथै घाउबाट दुर्गन्ध आउन थालेको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ। बिरामी अवस्थाका कारण कुकुरलाई हिँडडुल गर्न तथा मानिससँग सम्पर्कमा आउन समस्या भइरहेको बताइएको छ।

रोकायाले प्रहरीसमक्ष दिएको बयानअनुसार कुकुरले घरनजिकको बाटो भएर आवतजावत गर्ने मानिसलाई टोक्न थालेको थियो। कुकुरको स्वास्थ्य अवस्था पनि बिग्रँदै गएपछि उपचार सम्भव नभएको ठानेर आफूले नदीमा फालेको उनले बताएकी छन्।

प्रहरी प्रदेश कार्यालयका प्रमुख डीआईजी सानुराम भट्टराईका अनुसार रोकायाले यस्तो कार्य गरेपछि कानुनी कारबाही हुन सक्छ भन्ने जानकारी आफूलाई नभएको बताएकी छन्। उनले बिरामी कुकुरको उपचार गराउन नसकेपछि नदीमा फालिदिएको बयान दिएको प्रहरीले जनाएको छ।

घटनापछि प्रहरीले कुकुरको अवस्थाबारे समेत जानकारी संकलन गरिरहेको छ। जीवित जनावरलाई यसरी नदीमा फालिएको घटनालाई प्रहरीले अनुसन्धानको दायरामा राखेको जनाएको छ।

रोकायाविरुद्ध के कानुनी कारबाही अघि बढाउने भन्ने विषयमा अनुसन्धानपछि प्रक्रिया अघि बढाइने प्रहरीले जनाएको छ।

प्रतिक्रियाहरू ()

कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया पोस्ट गर्नुहोस्!

आफ्नो प्रतिक्रिया छोड्नुहोस्