काठमाडौं । अमेरिकाले पृथ्वीको कक्षमा अन्तरिक्ष हतियार तैनाथ गरेको पहिलोपटक औपचारिक रूपमा पुष्टि गरेको छ। अमेरिकी वायुसेनाका सचिव ट्रोय मेइन्कले अन्तरिक्षमा तैनाथ गरिएको उक्त हतियार अमेरिकी सेनालाई शत्रुबाट हुन सक्ने सम्भावित आक्रमणबाट जोगाउन आवश्यक रहेको बताएका छन्।
सोमबार आयोजित ‘एयर, स्पेस एन्ड साइबर कन्फरेन्स’मा बोल्दै मेइन्कले अमेरिकाले अन्तरिक्ष क्षेत्रमा विकसित हुँदै गएका जोखिम र चुनौतीको सामना गर्न आफूलाई तयार राखेको बताए। यद्यपि उनले तैनाथ गरिएको हतियारको प्रकृति, क्षमता तथा कहिले कक्षमा पठाइएको हो भन्नेबारे विस्तृत जानकारी दिएनन्।
अमेरिकी अधिकारीहरूले लामो समयदेखि चीन र रुसले अमेरिकी भू–उपग्रहलाई अवरुद्ध, क्षति वा नष्ट गर्न सक्ने प्रविधि विकास गरिरहेको भन्दै अन्तरिक्षमा सैन्य क्षमता विस्तारको आवश्यकता औँल्याउँदै आएका छन्। सञ्चार, निगरानी तथा नेभिगेसनका लागि प्रयोग हुने भू–उपग्रह आधुनिक सैन्य प्रणालीका लागि अत्यन्त महत्वपूर्ण मानिन्छन्।
अमेरिकी अन्तरिक्ष सेनाका अनुसार ‘स्पेस कन्ट्रोल’ अन्तर्गत शत्रुका अन्तरिक्ष क्षमतालाई अवरोध गर्ने, कमजोर बनाउने तथा आवश्यक परे नष्ट गर्नेसम्मका आक्रामक र रक्षात्मक उपाय अपनाउन सकिन्छ। यस्ता क्षमता सम्बन्धित सैन्य कमान्डको निर्देशनमा प्रयोग गर्न सकिने उसको भनाइ छ।
सन् १९६७ को अन्तरिक्ष सन्धिले पृथ्वीको कक्षमा आणविकलगायत व्यापक विनाशकारी हतियार तैनाथ गर्न प्रतिबन्ध लगाएको छ। तर भू–उपग्रहलाई लक्षित गर्ने अन्य प्रकारका सैन्य प्रविधिमाथि भने त्यस्तो व्यापक प्रतिबन्ध छैन।
अमेरिकाले सन् २०१९ मा अन्तरिक्ष सेनाको स्थापना गरेको थियो। गत वर्ष राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिकी अन्तरिक्ष सेनाको भूमिकालाई रक्षात्मक मात्र नभई आवश्यक अवस्थामा आक्रामक कारबाही गर्न सक्ने शक्तिका रूपमा समेत अघि बढाउने नीति सार्वजनिक गरेका थिए।
अमेरिकाले ‘गोल्डेन डोम’ नामक प्रस्तावित क्षेप्यास्त्र प्रतिरक्षा प्रणालीमा समेत अन्तरिक्षमा आधारित क्षमता र अवरोधक प्रणालीलाई महत्वपूर्ण मानेको छ। यससँगै अन्तरिक्ष सैन्य प्रतिस्पर्धा अझ तीव्र हुने संकेत देखिएको छ।
प्रतिक्रियाहरू (०)
कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया पोस्ट गर्नुहोस्!
आफ्नो प्रतिक्रिया छोड्नुहोस्