मनास्लुका हिमतालको जोखिम घटाउन माग, सामागाउँका युवाले अनशन घोषणा

insight dainik

गोरखा । मनास्लु क्षेत्रका हिमतालमा बढ्दो जोखिमप्रति सरकारको ध्यानाकर्षण गराउँदै सामागाउँका युवाले आमरण अनशन बस्ने घोषणा गरेका छन्। चुमनुब्री गाउँपालिका–१ सामागाउँका युवाले हिमतालको वैज्ञानिक अध्ययन, जोखिम न्यूनीकरण तथा स्थानीय बस्तीको सुरक्षाका लागि तत्काल प्रभावकारी कदम चाल्न सरकारसँग माग गरेका हुन्।

युवाहरूले असोज २ गतेदेखि मनास्लु बेस क्याम्पमा आमरण अनशन बस्ने घोषणा गरेका छन्। उनीहरूले आफ्ना माग समेटिएको आठबुँदे ध्यानाकर्षणपत्र गोरखाका प्रमुख जिल्ला अधिकारीलाई बुझाएका छन्। उक्त पत्र मनास्लु संरक्षण क्षेत्र आयोजना (एमक्याप) को स्थानीय कार्यालय र सामागाउँ प्रहरी चौकीमा समेत बुझाइएको स्थानीय युवा दावा नोर्बु लामाले जानकारी दिएका छन्।

स्थानीयका अनुसार पछिल्लो समय मनास्लु बेस क्याम्प आसपासमा नयाँ हरिया रङका ताल देखिएका छन्। विशेषगरी वीरेन्द्र ताल, काल ताल तथा घुन्सारफिर क्षेत्रमा रहेका तालको जोखिमबारे विस्तृत अध्ययन गर्नुपर्ने उनीहरूको माग छ। हिमतालको गहिराइ, पानीको अवस्था र सम्भावित विस्फोटको जोखिम वैज्ञानिक रूपमा मूल्याङ्कन गरी नियमित अनुगमन र निरीक्षण गर्नुपर्ने उनीहरूले बताएका छन्।

सम्भावित हिमताल विस्फोटबाट हुने क्षति रोक्न पूर्वसूचना प्रणाली तथा आवश्यक प्रविधि जडान गर्न पनि युवाले माग गरेका छन्। जोखिमबारे स्थानीय बासिन्दालाई समयमै जानकारी गराउने व्यवस्था मिलाउनुपर्ने उनीहरूको भनाइ छ।

त्यसैगरी हिमताल फुटेर बाढी आएमा तत्काल उद्धार गर्न सकिने गरी पूर्वतयारी, उद्धार तथा विपद् व्यवस्थापनका योजना प्रभावकारी बनाउनुपर्ने माग गरिएको छ। हिमाली क्षेत्रका विद्यालयको पाठ्यक्रममा जलवायु परिवर्तन र विपद् जोखिम न्यूनीकरणसम्बन्धी विषय समावेश गर्न पनि उनीहरूले आग्रह गरेका छन्।

जलवायु परिवर्तनका कारण हिमाली क्षेत्रमा जलस्रोत तथा प्राकृतिक जोखिम बढ्दै गएको भन्दै युवाले नेपालले जलवायु परिवर्तनमा न्यून योगदान गरे पनि त्यसको असर बढी भोगिरहेको बताएका छन्। उनीहरूले जलवायु न्यायका लागि अन्तर्राष्ट्रिय तहमा प्रभावकारी पहल गर्न सरकारसँग आग्रह गरेका छन्।

सरकारले माग सम्बोधनका लागि ठोस पहल नगरे गोरखामै समेत आमरण अनशन बस्ने चेतावनी युवाले दिएका छन्।

प्रतिक्रियाहरू ()

कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया पोस्ट गर्नुहोस्!

आफ्नो प्रतिक्रिया छोड्नुहोस्