काठमाडौं । नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवा नेतृत्वको समूहमा थप विभाजन देखिएको छ। देउवा समूहका प्रभावशाली नेता तथा तत्कालीन कार्यवाहक सभापति पूर्णबहादुर खड्कासहित करिब ३१ नेता गगन थापा नेतृत्वको केन्द्रीय कार्यसमितिमा समाहित हुने तयारीमा लागेपछि देउवा थप एक्लिँदै गएको देखिएको छ।
कांग्रेसको विशेष महाधिवेशनपछि पार्टीभित्र देखिएको विवाद समाधान गर्दै महाधिवेशन प्रक्रियालाई अघि बढाउने क्रममा देउवा समूहका नेताहरूले पार्टी एकताको पक्षमा उभिने निर्णय गरेका हुन्। शनिबार ३१ नेताले संयुक्त विज्ञप्ति जारी गर्दै पार्टी एकताको पक्षमा आफूहरू रहेको स्पष्ट गरेका थिए।
खड्का यसअघि देउवा पक्षबाट समानान्तर महाधिवेशनको तयारीमा सक्रिय थिए। तर, समानान्तर गतिविधिले पार्टी विभाजनतर्फ जाने जोखिम बढेको भन्दै उनी पछिल्लो समय असन्तुष्ट बनेका थिए। देउवा पक्षले उनलाई हटाएर पूर्वमहामन्त्री शशांक कोइरालालाई समानान्तर महाधिवेशन आयोजक समितिको संयोजक बनाएपछि दूरी थप बढेको थियो।
कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिले आइतबार पूर्वसभापति देउवा नेतृत्वको तत्कालीन केन्द्रीय कार्यसमितिमा रहेका नेताहरूलाई वर्तमान केन्द्रीय कार्यसमितिमा समायोजन गरी महाधिवेशन प्रक्रियामा सहभागी गराउने निर्णय गरेको छ। यही निर्णयपछि देउवा पक्षमा रहेका नेताहरूको ठूलो समूह गगन नेतृत्वको कार्यसमितिमा जाने वातावरण बनेको हो।
नेता श्याम घिमिरेका अनुसार विज्ञप्तिमा हस्ताक्षर गर्ने अधिकांश नेता सानेपा जाने तयारीमा छन्। उनका अनुसार सम्पर्कमा रहेका अन्य नेतासमेत जोडिँदा तत्कालीन केन्द्रीय कार्यसमितिका करिब ४० सदस्य वर्तमान कार्यसमितिमा समाहित हुन सक्ने अवस्था छ।
देउवा पक्षले भने आफ्नो आठबुँदे मागभन्दा अघि बढेर १४औँ महाधिवेशनबाट निर्वाचित सभापतिको नेतृत्वमा मात्रै आगामी महाधिवेशन हुनुपर्ने अडान राखेको छ। उक्त अडानमा सहमति जुट्न नसक्दा देउवा पक्षभित्रै असन्तुष्टि बढेको हो।
यससँगै कांग्रेसको आगामी महाधिवेशन प्रक्रिया अघि बढ्दै गर्दा शेरबहादुर देउवा राजनीतिक रूपमा झन् एक्लिँदै गएको संकेत देखिएको छ।
प्रतिक्रियाहरू (०)
कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया पोस्ट गर्नुहोस्!
आफ्नो प्रतिक्रिया छोड्नुहोस्