भ्रष्टाचार मुद्दामा राजेशमान सिंहले पाए सफाइ, मेयर पदमा फर्किने बाटो खुल्यो

insight dainik

वीरगन्ज । वीरगन्ज महानगरपालिकाका निलम्बित मेयर राजेशमान सिंह भ्रष्टाचारसम्बन्धी मुद्दामा विशेष अदालतबाट सफाइ पाएसँगै पुनः पदमा फर्किने भएका छन्।

विशेष अदालतमा सोमबार भएको सुनुवाइपछि न्यायाधीशत्रय बासुदेव आचार्य, हेमन्त रावल र डिल्लीरत्न श्रेष्ठको संयुक्त इजलासले सिंहसहित मुद्दामा प्रतिवादी बनाइएका व्यक्तिहरूलाई सफाइ दिएको हो। अदालतको फैसलासँगै भ्रष्टाचार मुद्दा दायर भएपछि स्वतः निलम्बनमा परेको सिंहको मेयर पदसम्बन्धी निलम्बन पनि फुकुवा भएको छ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गत जेठ २५ गते सिंहसहित सात जनाविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको थियो। मुद्दा दायर भएपछि प्रचलित कानुनी व्यवस्थाअनुसार सार्वजनिक पदमा रहेका सिंह निलम्बित भएका थिए।

सिंहमाथि अर्काको छोरीलाई आफ्नो छोरीका रूपमा विवरण पेस गरी नागरिकता दिलाउन सहयोग गरेको आरोप लगाइएको थियो। अख्तियारका अनुसार सिन्धुपाल्चोकको इन्द्रावती गाउँपालिका–१० की रिता भट्टराईकी छोरीलाई सिंहले आफ्नै छोरी ‘रुविना श्रेष्ठ’का रूपमा कायम गरी नागरिकता दिलाएको आरोप थियो।

तर सिंहले उक्त आरोप अस्वीकार गर्दै भट्टराई आफ्नो दोस्रो श्रीमती भएको दाबी गर्दै आएका थिए।

यस प्रकरणमा सिंहसँगै वीरगन्ज महानगरपालिका–३ का तत्कालीन वडा सचिव भिखारी राय, तत्कालीन कार्यवाहक वडा अध्यक्ष तुफैल अख्तर ठकुराई, जिल्ला प्रशासन कार्यालय पर्साका तत्कालीन प्रशासकीय अधिकृत षड्कुमार पोख्रेल, गृह मन्त्रालयका तत्कालीन उपसचिव पुष्कर राना र शाखा अधिकृत पर्शुराम पोखरेललगायतलाई प्रतिवादी बनाइएको थियो।

विशेष अदालतको फैसलापछि सिंहमाथि लागेको उक्त मुद्दाको तत्कालीन कानुनी प्रभाव समाप्त भएको छ। अब उनी वीरगन्ज महानगरपालिकाको मेयरका रूपमा पुनः जिम्मेवारी सम्हाल्ने अवस्थामा पुगेका छन्।

प्रतिक्रियाहरू ()

कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया पोस्ट गर्नुहोस्!

आफ्नो प्रतिक्रिया छोड्नुहोस्