काठमाडौं । काठमाडौं महानगरपालिकाले लक्षित वर्गका जलनपीडितलाई प्रतिव्यक्ति २ लाख रुपैयाँसम्मको उपचार खर्च निःशुल्क उपलब्ध गराउने भएको छ।
महानगरपालिकाले गरिब, हिंसापीडित तथा पहिचान खुल्न नसकेका वा आफन्त नभएका जलनपीडित बिरामीलाई लक्षित गर्दै यस्तो सेवा सुरु गर्न लागेको हो। यसका लागि काठमाडौं महानगरपालिका र पब्लिक हेल्थ कन्सर्न ट्रस्टअन्तर्गतको कीर्तिपुर अस्पतालबीच सम्झौता भएको छ।
सम्झौताअनुसार लक्षित वर्गका बिरामीलाई महानगरपालिकाको स्वास्थ्य शिक्षा समितिको सिफारिसका आधारमा जलनको उपचार निःशुल्क गरिनेछ। उपचारका क्रममा एक जना बिरामीका लागि बढीमा २ लाख रुपैयाँसम्म खर्च महानगरपालिकाले व्यहोर्नेछ।
निःशुल्क उपचार सेवा सञ्चालन तथा आवश्यक उपकरण र उपचार सामग्री व्यवस्थापनका लागि महानगरपालिकाले अस्पताललाई २ करोड रुपैयाँ उपलब्ध गराएको छ। उक्त रकममध्ये १ करोड रुपैयाँ छुट्टै ‘जलन उपचार कोष’मा राखिनेछ। सोही कोषबाट लक्षित वर्गका बिरामीको उपचारमा प्रतिव्यक्ति अधिकतम २ लाख रुपैयाँसम्म खर्च गरिने व्यवस्था गरिएको छ।
चालु आर्थिक वर्षमा कोषमा रहेको रकम पूर्ण रूपमा खर्च नभए बाँकी रकम आगामी वर्षमा समेत जलन उपचारका लागि प्रयोग गरिने महानगरपालिकाले जनाएको छ।
सम्झौता कार्यक्रममा काठमाडौं महानगरपालिकाकी कार्यवाहक प्रमुख सुनिता डंगोलले आर्थिक अभावका कारण कुनै पनि व्यक्ति जलनको उपचारबाट वञ्चित हुन नपरोस् भन्ने उद्देश्यले सेवा सुरु गरिएको बताइन्।
उनका अनुसार गम्भीर अवस्थामा बिरामीलाई अस्पताल पुर्याएपछि उपचार खर्च जुटाउन परिवारले अस्पताल र घरबीच धाउनुपर्ने अवस्था अन्त्य गर्न कोष स्थापना गरिएको हो। आर्थिक रूपमा कमजोर तथा सहारा नभएका जलनपीडितलाई यसबाट प्रत्यक्ष राहत पुग्ने महानगरपालिकाको अपेक्षा छ।
महानगरपालिकाले अस्पतालसँगको सहकार्यमा सञ्चालन गर्ने यो कार्यक्रमले जलन उपचारमा आर्थिक समस्या भोगिरहेका लक्षित वर्गका बिरामीलाई तत्काल सहयोग पुग्ने विश्वास गरिएको छ।
प्रतिक्रियाहरू (०)
कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया पोस्ट गर्नुहोस्!
आफ्नो प्रतिक्रिया छोड्नुहोस्