फिफा विश्वकप २०२६ को उद्घाटन समारोह: मेक्सिको, क्यानडा र अमेरिका — तीन देशमा तीन भव्य कार्यक्रम

nepal news portal

आगामी जुन ११ देखि सुरु हुने फिफा विश्वकप २०२६ को उद्घाटन समारोह इतिहासमै सबैभन्दा भव्य र अनौठो हुने भएको छ। पहिलोपटक तीन राष्ट्रले संयुक्त रूपमा आयोजना गर्ने यस विश्वकपमा प्रत्येक आयोजक देशमा छुट्टाछुट्टै उद्घाटन समारोह हुने व्यवस्था गरिएको छ।

मेक्सिकोको उद्घाटन — जुन ११

मेक्सिकोमा उद्घाटन समारोह जुन ११ गते मेक्सिको सिटी स्टेडियम (एस्टाडियो बानोर्ते) मा हुनेछ। मेक्सिकोको उद्घाटन समारोहमा बहु-ग्रामी पुरस्कार विजेता मेक्सिकन रक ब्यान्ड माना (Maná), कोलम्बियाली सुपरस्टार जे बाल्भिन (J Balvin), मेक्सिकन गायक एलेहान्द्रो फर्नान्डेज र बेलिन्डा, मेक्सिकन कुम्बिया ब्यान्ड लोस आन्हेलेस आजुलेस, मेक्सिकन-अमेरिकन गायिका लिला डाउन्स, भेनेजुएलाली ड्यानी ओसेन र दक्षिण अफ्रिकाली गायिका टाइला (Tyla) ले प्रस्तुति दिने छन्।उद्घाटन खेल सुरु हुनुभन्दा ९० मिनेट अगाडि जुन ११ बिहान ११:३० बजे (स्थानीय समयअनुसार) उद्घाटन समारोह सुरु हुनेछ। उद्घाटन खेलमा मेक्सिको र दक्षिण अफ्रिका आमने-सामने हुनेछन् — त्यो स्टेडियम इतिहासमा तेस्रो पटक विश्वकपको खेल आयोजना गर्ने पहिलो स्टेडियम बन्नेछ।

क्यानडाको उद्घाटन — जुन १२

क्यानडाको उद्घाटन समारोह जुन १२ गते टोरन्टोको बीएमओ फिल्डमा हुनेछ। यसमा क्यानेडियन संगीत दिग्गज माइकल बुब्ले, अलानिस मोरिसेट र एलेसिया कारा लगायतका कलाकारले प्रस्तुति दिने छन्। यस समारोहमा एलियान्ना, जेसी रेयेज र नोरा फाटेही पनि सहभागी हुने छन्।

अमेरिकाको उद्घाटन — जुन १२

अमेरिकाको उद्घाटन समारोह जुन १२ गते नै लस एन्जलेसको सोफी स्टेडियममा हुनेछ। यसमा पप सुपरस्टार केटी पेरी प्रमुख कलाकारका रूपमा रहनेछिन्। यसबाहेक अमेरिकी र्यापर फ्युचर, बंगलादेशी-अमेरिकन डिजे सञ्जय, दक्षिण कोरियाली गर्ल ग्रुप ब्ल्याकपिङ्ककी सदस्य लिसा र पाराग्वेयन कलाकार मारिलिना बोगादो पनि प्रस्तुत हुनेछन्।

विशेष समारोह — जुलाई ४

यसबाहेक जुलाई ४ मा अमेरिकाको स्वतन्त्रताको २५० औँ वार्षिकोत्सव मनाउन फिलाडेल्फिया र ह्युस्टनका खेलहरूमा विशेष समारोह आयोजना हुनेछन्।

यो विश्वकप जुन ११ देखि जुलाई १९ सम्म ३ देश र १६ सहरमा १०४ खेलसहित आयोजना हुनेछ। फाइनल न्युयोर्कको मेटलाइफ स्टेडियममा हुनेछ।