काठमाडौं । सरकारी कार्यालय धाउँदा हुने सास्ती र झन्झटिलो प्रक्रिया अब काठमाडौं महानगर वडा नं. ६ का नागरिकका लागि इतिहास बन्ने संकेत देखिएको छ।
सोमबार नवनिर्मित प्रशासनिक भवनको उद्घाटनसँगै वडाले 'एकद्वार सेवा प्रणाली' र 'अपरोधरहित पहुँच'को नयाँ अध्याय सुरु गरेको छ।
कार्यवाहक प्रमुख सुनिता डंगोलले उद्घाटनका क्रममा स्पष्ट पारिन्— भौतिक पूर्वाधार मात्र ठूलो कुरा होइन, त्यसभित्रबाट प्रवाह हुने सेवाको गुणस्तरले मात्र भवनको सार्थकता पुष्टि गर्नेछ।
वडाध्यक्ष भुवन लामाले कर्मचारी र कार्यकक्षको व्यवस्थापन यसरी मिलाएका छन् कि सेवाग्राहीले अब एउटै कामका लागि विभिन्न तलामा धाउनुपर्ने छैन।
भवन निर्माणमा खर्च भएको हरेक पैसाको हिसाब पारदर्शी देखिएको छ। ४ करोड ८८ लाखको ठेक्का सम्झौतामा झन्डै १० लाख रुपैयाँ बचत गर्दै निर्माण सम्पन्न हुनुले सुशासनको सकारात्मक झल्को दिएको छ।
यो भवन केवल इँटा र सिमेन्टको संरचना मात्र होइन, यो स्थानीय पहिचानको संरक्षण गर्ने थलो पनि बनेको छ। परिचय पाटीमा नेवाः समुदायको रञ्जना लिपि र तामाङ समुदायको सम्बोटा लिपिको प्रयोगले महानगरको 'सांस्कृतिक सहर'को अवधारणालाई मूर्त रूप दिएको छ।
मौलिक नेपाली वास्तुकला र आधुनिक सुविधाको यो मिश्रणले अन्य वडाहरूका लागि पनि एउटा अनुकरणीय नमुना पेश गरेको छ। अबको चुनौती भनेको यो अत्याधुनिक पूर्वाधारको जगमा उभिएर जनतालाई कत्तिको छिटो र भ्रष्टाचारमुक्त सेवा प्रदान गरिन्छ भन्ने नै हो।