काठमाण्डौ – पूँजी बजारमा देखिएको मन्दीले आज फेरि निरन्तरता पाएको छ।
साताको सुरुवात नै दोहोरो अङ्कको गिरावटबाट भएपछि आम लगानीकर्तामा त्रास फैलिएको छ।
आज नेप्से परिसूचक ३४ दशमलव ६३ अङ्कले खस्केर २७०४ को विन्दुमा ओर्लिएको छ।
बजार लगातार चौथो दिनसम्म घट्नुले बजारको दिशा कता जाँदैछ भन्नेमा गम्भीर प्रश्न खडा गरेको छ।
आजको बजारलाई उत्पादन तथा प्रशोधन समूहले सबैभन्दा बढी थला पारेको छ, जहाँ साढे २ प्रतिशतभन्दा बढीको गिरावट देखियो।
२४० कम्पनीको ओरालो यात्राले बजार पूर्ण रूपमा बियरिस मुडमा रहेको सङ्केत गर्छ।
कर्पाेरेट डेभलपमेन्ट बैंकको शेयर त साढे १२ प्रतिशतले 'क्र्यास' नै भएको छ।
यस्तो निराशाजनक अवस्थामा पनि फरवार्ड माइक्रोफाइनान्सले १५ प्रतिशतको उछाल मार्नु बाहेक बजारमा उत्साहजनक पक्ष केही देखिएन।
कारोबार रकममा आएको गिरावतले लगानीकर्ताहरू 'पर्ख र हेर' को स्थितिमा पुगेको प्रस्ट पार्छ।
गत बिहीबारको तुलनामा आज कारोबार रकम घटेर ४ अर्ब २६ करोडमा खुम्चिनुले बजारमा तरलता र विश्वास दुवैको अभाव झल्काउँछ। ३४१ कम्पनीका शेयर किनबेच हुँदा पनि परिसूचक सम्हालिन नसक्नुले आगामी दिन अझै चुनौतीपूर्ण हुनसक्ने सङ्केत गरेको छ।