वर्षा र पहिरोले मध्यपहाडी लोकमार्ग बन्द, यात्रुहरू अलपत्र

nepal news portal

लमजुङ – प्रतिकूल मौसमका कारण मध्यपहाडी लोकमार्गको लमजुङ खण्ड आज बिहानैदेखि अवरुद्ध भएको छ।

मध्यनेपाल नगरपालिका–१०, विमिरे भञ्ज्याङमा खसेको ठूलो पहिरोका कारण सवारीसाधन सञ्चालन हुन नसकेको जिल्ला प्रहरी कार्यालय लमजुङले जनाएको छ।

गएरातिदेखि जारी वर्षाले पहिरो पन्छाउने कार्यमा समेत अवरोध पुगेको छ। यसका साथै लोकमार्गका विभिन्न खोलामा जलसतह बढेकाले सवारी आवतजावतमा थप जोखिम देखिएको छ।

प्रहरीले वर्षा जारी रहेकाले तत्काल सडक खुल्ने अवस्था नभएको जानकारी दिँदै आवश्यक सावधानी अपनाउन यात्रु तथा सवारी चालकहरूलाई आग्रह गरेको छ।

सडक सञ्चालनका लागि सम्बद्ध निकायबाट प्रयास भइरहे पनि मौसम सुधार नहुन्जेल समस्या यथावत रहने देखिन्छ।