रुकुमपूर्व: प्राकृतिक विपद्ले रुकुमपूर्वलाई कडा प्रहार गरेको छ।
शनिबार साँझको भीषण वर्षा र असिनापानीका कारण जिल्लाको मेरुदण्ड मानिने मध्यपहाडी लोकमार्गका धौलापहिरा, काँडाबगर, किमुबोट, सुन्तलाबारी, सैपातुङ, काँक्री र सीतालगायतका क्षेत्रमा पहिरो खस्दा यातायात सेवा पूर्ण रूपमा अवरुद्ध भएको छ।
विपद्का कारण धाउन्ने र मुरुका सडकखण्डमा पनि यातायात आवागमन ठप्प भएको छ।
सडक सञ्जाल अवरुद्ध हुनुका साथै विद्युत् आपूर्तिसमेत बन्द हुँदा स्थानीय अन्धकारमा बस्न बाध्य भएका छन्।
प्रहरीका अनुसार जोखिमपूर्ण अवस्थालाई मध्यनजर गर्दै तत्काल यात्रा नगर्न आग्रह गरिएको छ।
अर्कोतर्फ, असिनाले किसानको गहुँबालीमा क्षति पुर्याउँदा यस क्षेत्रको कृषि अर्थतन्त्रमा समेत गम्भीर धक्का लागेको छ। अहिले भूमे गाउँपालिकाको सहकार्यमा पहिरो पन्छाउने काम जारी छ।