काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से) को शेयर कारोबार प्रणालीमा साइबर आक्रमणको असर देखिएपछि सोमबारको शेयर कारोबार बन्द गरिएको छ।
नेप्सेका ७२ कारोबार सदस्य कम्पनीका सर्भर राखिएको डाटा सेन्टर ‘डाटा हब’ मा साइबर आक्रमण भएपछि कारोबारसँग सम्बन्धित विभिन्न प्रणाली प्रभावित भएका हुन्। आक्रमणपछि सम्भावित थप क्षति रोक्न टीएमएस विकासकर्ता वाइको प्रालिले आफ्ना प्रणाली तत्काल बन्द गरेको जनाएको छ।
वाइकोका अनुसार डाटा हबले आइतबार कार्यालय समय सुरु हुनुअघि नै साइबर आक्रमण भएको पहिचान गरेको थियो। त्यसपछि टीएमएससहित सिडिएससीसँग सम्बन्धित प्रणाली, भुक्तानी सेवा तथा आपसमा जोडिएका अन्य डिजिटल सेवामा समेत असर परेको जनाइएको छ।
घटनाको प्राविधिक मूल्याङ्कन तथा सुरक्षा परीक्षण भइरहेका कारण प्रयोगकर्तालाई प्रणालीमा पटक–पटक जबर्जस्ती प्रवेश गर्ने प्रयास नगर्न आग्रह गरिएको छ। साइबर आक्रमणबाट डाटा सेन्टर र नेप्सेबीचको सञ्जाल सम्पर्कसमेत प्रभावित हुन सक्ने भएकाले शेयर कारोबार प्रणालीको सञ्चालन, साइबर सुरक्षा र तथ्यांकको विश्वसनीयतामा जोखिम उत्पन्न भएको वाइकोले जनाएको छ।
यसैबीच नेप्सेले सोमबारको शेयर कारोबार बन्द गर्ने निर्णय गरेको छ। प्रणाली पुनः कहिलेदेखि सञ्चालनमा आउने भन्नेबारे भने अहिलेसम्म निश्चित समयसीमा सार्वजनिक गरिएको छैन।
प्राविधिक टोलीले प्रभावित प्रणालीको अवस्था मूल्याङ्कन गरी सुरक्षा सुनिश्चित गरेपछि मात्रै कारोबार पुनः सञ्चालन हुने अपेक्षा गरिएको छ।
प्रतिक्रियाहरू (०)
कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया पोस्ट गर्नुहोस्!
आफ्नो प्रतिक्रिया छोड्नुहोस्