काठमाडौं । काठमाडौंको त्रिपुरेश्वरमा सोमबार दिउँसो बसमा आगलागी हुँदा चालक गम्भीर घाइते भएका छन् । राहदानी विभागअगाडि रहेको बस स्टपमा रोकिराखेको बसमा आगो लागेको हो ।
प्रहरीका अनुसार रिद्धिसिद्धि यातायातको मूलपानी–थानकोट रुटमा चल्ने बसमा दिउँसो करिब १२ः१५ बजे आगलागी भएको हो । आगलागी हुँदा बसभित्र चालक २५ वर्षीय दावा लामा मात्रै थिए । यात्रु भने बसमा थिएनन् ।
आगलागीमा परी काभ्रे घर भएका लामाको शरीरमा गम्भीर चोट लागेको छ । उनलाई तत्काल उद्धार गरी उपचारका लागि कीर्तिपुर बर्न अस्पताल पठाइएको प्रहरीले जनाएको छ ।
बसमा आगो लाग्दा चालक बसभित्रै रहेको र बाहिर ननिस्किएको अवस्थालाई आधार बनाएर प्रहरीले चालक आफैँले आगो लगाएको हुन सक्ने प्रारम्भिक आशंका गरेको छ । जिल्ला प्रहरी परिसर काठमाडौंका अधिकारीहरूले घटनाको वास्तविक कारण भने विस्तृत अनुसन्धानपछि मात्र खुल्ने बताएका छन् ।
प्रारम्भिक अनुसन्धानका क्रममा चालकको ट्राफिक प्रहरीसँग विवाद भएको हुन सक्ने कोणबाट समेत घटनालाई हेरिएको छ । यद्यपि विवाद नै आगजनीको कारण हो भन्ने पुष्टि भइसकेको छैन । प्रहरीले यस विषयमा थप अनुसन्धान गरिरहेको जनाएको छ ।
आगलागी भएपछि घटनास्थलमा सुरक्षाकर्मी र दमकल पुगेका थिए । सशस्त्र प्रहरीको सहयोगमा आगो नियन्त्रणमा लिइएको थियो ।
घटनाका कारण केही समय त्रिपुरेश्वर क्षेत्रमा आवागमनसमेत प्रभावित भएको थियो । बसमा यात्रु नरहेकाले थप मानवीय क्षति हुनबाट जोगिएको छ ।
प्रहरीले चालकले किन बसमा आगो लगाए भन्ने विषयलाई अनुसन्धानको मुख्य पक्ष बनाएको छ । चालकको उपचारपछि उनको बयान, घटनास्थलको अवस्था तथा प्रत्यक्षदर्शीको विवरणबाट आगलागीको वास्तविक कारण पत्ता लगाउने प्रयास भइरहेको छ ।
प्रतिक्रियाहरू (०)
कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया पोस्ट गर्नुहोस्!
आफ्नो प्रतिक्रिया छोड्नुहोस्