काठमाडौं । नेपाल विद्युत् प्राधिकरणले काठमाडौं उपत्यकाका विभिन्न क्षेत्रमा रातको समयमा विद्युत् आपूर्ति बन्द गरेर प्राविधिक तथा मर्मतसम्बन्धी काम गर्ने भएको छ। प्राधिकरणले असोज ४ गतेदेखि १४ गतेसम्म विभिन्न फिडरअन्तर्गतका क्षेत्रमा चरणबद्ध रूपमा विद्युत् कटौती गर्ने जनाएको छ।
लप्सीफेदी तथा चाँगुनारायण सबस्टेसन निर्माण आयोजनाको कामसँगै १३२ केभी टेकु सबस्टेसनमा रहेका पुराना रिले हटाएर नयाँ रिले जडान तथा परीक्षण गर्नुपर्ने भएकाले विद्युत् आपूर्ति प्रभावित हुने भएको हो।
प्राधिकरणका अनुसार मुख्य काम राति ११ बजेदेखि बिहान २ बजेसम्म र बिहान २ बजेदेखि ५ बजेसम्म गरिनेछ। फिडरअनुसार प्रभावित क्षेत्र र समय यसप्रकार छन् :
मिति | फिडर/क्षेत्र | विद्युत् कटौती हुने समय |
|---|---|---|
असोज ४ र ५ | सुन्धारा–१ | राति ११ बजेदेखि बिहान २ बजेसम्म |
असोज ५ र ६ | पुलचोक | राति ११ बजेदेखि बिहान २ बजेसम्म |
असोज ६ र ७ | सुन्धारा–२ तथा बागमती | राति ११ बजेदेखि बिहान २ बजेसम्म |
असोज ६ र ७ | रिङरोड तथा भैंसेपाटी | निर्धारित प्राविधिक समयअनुसार |
असोज ८ देखि १४ | थापाथली, मिन्ट, कालिमाटी, भीमसेनस्थान | राति ११–२ तथा २–५ बजेको चरणअनुसार |
असोज ८ देखि १४ | क्षेत्रपाटी, त्रिपुरेश्वर, चःमती, ताहाचल | राति ११–२ तथा २–५ बजेको चरणअनुसार |
असोज ८ देखि १४ | कीर्तिपुर तथा कुलेश्वर | राति ११–२ तथा २–५ बजेको चरणअनुसार |
यसबाट न्युरोड, धरहरा, त्रिपुरेश्वर, टेकु, बल्खु, सानेपा, कालिमाटी, कीर्तिपुर र सोल्टीमोड आसपासका क्षेत्रसमेत प्रभावित हुन सक्ने प्राधिकरणले जनाएको छ।
प्राधिकरणले प्राविधिक काम निर्धारित समयमै सम्पन्न गर्ने प्रयास गरिने र काम छिटो सकिए विद्युत् आपूर्ति तोकिएको समयभन्दा अगावै पुनः सञ्चालन हुन सक्ने जनाएको छ। प्राविधिक कारणले कार्यतालिका परिवर्तन गर्नुपरेमा त्यसबारे जानकारी गराइने पनि प्राधिकरणले स्पष्ट पारेको छ।
यसकारण सम्बन्धित क्षेत्रका उपभोक्तालाई रातको समयमा विद्युत् कटौती हुन सक्ने भन्दै आवश्यक तयारी गर्न प्राधिकरणले आग्रह गरेको छ।
प्रतिक्रियाहरू (०)
कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया पोस्ट गर्नुहोस्!
आफ्नो प्रतिक्रिया छोड्नुहोस्