हिमताल संरक्षणको माग गर्दै मनास्लुमा अनसन, तीन दिनमै बिरामी पर्न थाले सहभागी

insight dainik

गोरखा । जलवायु परिवर्तनका कारण हिमतालमा बढ्दै गएको जोखिम न्यूनीकरण तथा संरक्षणको माग गर्दै गोरखाको मनास्लु क्षेत्रमा सुरु गरिएको आमरण अनसन तेस्रो दिन पनि जारी रहेको छ। समुद्री सतहबाट करिब ५ हजार ३० मिटर उचाइमा भारी हिमपातबीच अनसन जारी रहँदा सहभागीहरू बिरामी पर्न थालेका छन्।

चुमनुब्री गाउँपालिका–१ सामागाउँका १० जना र वडा नम्बर ७ का एक गरी ११ जना स्थानीय बासिन्दा मनास्लु आधार शिविरभन्दा केही माथि अनसनमा बसेका हुन्। अनसनको नेतृत्व गरिरहेका दावा नोर्बु लामाका अनुसार लगातारको हिमपातका कारण अनसनस्थलमा राखिएको पालसमेत हिउँले पुरिने अवस्था आएको छ। सहभागीहरूले पाल वरपरको हिउँ पन्छाउँदै अनसन जारी राखेका छन्।

तीन दिनदेखि अत्यधिक चिसोमा बस्नुपर्दा केही अनसनकारीमा स्वास्थ्य समस्या देखिन थालेको लामाले बताएका छन्। उनका अनुसार केहीलाई पेटसम्बन्धी समस्या देखिएको छ भने केही सहभागी निकै कमजोर बनेका छन्। माग सम्बोधनका लागि सरकारी निकायबाट पहल भइरहेको जानकारी आए पनि ठोस निर्णय नभएकाले अनसन जारी राखिएको उनको भनाइ छ।

गोरखाका प्रमुख जिल्ला अधिकारी धर्मेन्द्रकुमार मिश्रले अनसनकारीसँग निरन्तर सम्पर्क भइरहेको बताएका छन्। उनले अनसन तोडेर वार्ता तथा संवादमार्फत समस्या समाधान गर्न आग्रह गरिएको जानकारी दिए। मनास्लु संरक्षण क्षेत्रका प्रमुख अनिल प्रसाईंले पनि अनसनकारीसँग सम्पर्क गरी अनसन अन्त्य गर्न आग्रह गर्नुका साथै उनीहरूका माग क्रमशः सम्बोधन गर्न पहल भइरहेको बताएका छन्।

अनसनकारीले हिमतालको नियमित नापजाँचका लागि प्रविधि जडान, जोखिमयुक्त बस्तीमा पूर्वसूचना दिने साइरन राख्नुपर्ने र हिमाली विद्यालयमा जलवायु परिवर्तनसम्बन्धी विषय समेटिएको पाठ्यक्रम लागू गर्नुपर्ने माग गरेका छन्।

त्यस्तै, भविष्यमा हिमताल विस्फोट हुन सक्ने जोखिमको अध्ययन, नेपाल–चीन सीमा क्षेत्रका हिमतालको नियमित संयुक्त निगरानी तथा जलवायु परिवर्तनबाट प्रभावित समुदायका लागि जलवायु क्षतिपूर्ति र न्यायको व्यवस्था गर्नुपर्ने उनीहरूको माग छ।

प्रतिक्रियाहरू ()

कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया पोस्ट गर्नुहोस्!

आफ्नो प्रतिक्रिया छोड्नुहोस्