यस वर्ष इन्द्रजात्रामा देखिने दुई नयाँ आकर्षण : रातो अनुहारको दागीं र मुहाली बाजा

insight dainik

काठमाडौं । ऐतिहासिक वसन्तपुर क्षेत्रमा मनाइने इन्द्रजात्राको तयारी तीव्र पारिएको छ । रथ निर्माण, सरसफाइ, सम्पदा क्षेत्रमा रङरोगन तथा आवश्यक व्यवस्थापनका काम अन्तिम चरणमा पुगेका छन् । यस वर्षको इन्द्रजात्रामा परम्परागत जात्रा तथा नाचसँगै दुई नयाँ आकर्षणसमेत देखिने भएका छन् ।

इन्द्रजात्रा व्यवस्थापन समितिका अनुसार यस वर्ष रातो अनुहार भएको श्री कुमारको दागीं यात्रा र परम्परागत मुहाली बाजालाई विशेष रूपमा प्रस्तुत गरिने भएको छ ।

रातो अनुहार भएको श्री कुमारको दागीं यात्रा

यस वर्ष पञ्चदानको अवसरमा चमतिमा बृहत् पञ्चदान कार्यक्रम आयोजना गरिएको थियो । उक्त कार्यक्रमसँग जोडिएको धार्मिक तथा सांस्कृतिक परम्पराअनुसार दानधर्म गर्ने व्यक्तिहरूलाई मृत्यु पर्यन्त वसुन्धरा दागींसँगै स्वर्ग जान पाइयोस् भन्ने उद्देश्यले श्री कुमारको रूपमा रातो अनुहारको दागीं यात्रा हुने बताइएको छ ।

चमति बृहत् पञ्चदान कार्यक्रमको तर्फबाट पूर्णकाजी ज्यापूले श्री कुमारको स्वरूपमा रातो अनुहारको दागीं पहिरिने तयारी गरिएको छ । उक्त दागीं यस वर्ष इन्द्रजात्राका क्रममा निकालिने कार्यक्रम रहेको छ ।

रातो दागींसँग सहभागी हुने अनुयायीहरूको समूहले परम्परागत दागीको यात्रा सकिएपछि सोही मार्गमा यात्रा गर्ने तयारी गरिएको छ । यसले इन्द्रजात्राको परम्परागत दागी यात्रामा थप सांस्कृतिक आकर्षण थप्ने अपेक्षा गरिएको छ ।

७० भन्दा बढीलाई मुहाली बाजाको तालिम

यस वर्ष इन्द्रजात्रामा अर्को आकर्षणका रूपमा परम्परागत मुहाली बाजा पनि प्रस्तुत गरिने भएको छ । काठमाडौं महानगरपालिकाले लोपोन्मुख अवस्थामा पुगेको मुहाली बाजाको संरक्षण तथा प्रवर्द्धनका लागि तालिम सञ्चालन गरेको हो ।

महानगरपालिकाका अनुसार यस क्रममा ७० भन्दा बढीलाई मुहाली बाजा बजाउने तालिम दिइसकिएको छ । जात्राका क्रममा उनीहरूले परम्परागत बाजा प्रस्तुत गर्ने तयारी गरिएको छ ।

इन्द्रजात्राको तयारी अन्तिम चरणमा

विश्व सम्पदा सूचीमा सूचीकृत वसन्तपुर दरबार क्षेत्रमा इन्द्रजात्राका लागि काष्ठमण्डप, कुमारी घर, शिव–पार्वती मन्दिरलगायत सम्पदामा रङरोगन तथा रातो ध्वजा फेर्ने काम भइरहेको छ । रथ निर्माण र सरसफाइका कामसमेत तीव्र पारिएको छ ।

इन्द्रजात्रा व्यवस्थापन समितिका अध्यक्ष गौतमरत्न शाक्यका अनुसार जात्राका लागि आवश्यक अधिकांश तयारी पूरा भइसकेको छ । जात्रा व्यवस्थित रूपमा सञ्चालन गर्न समितिसँग आबद्ध ३१ गुठी खलःसँग पटक–पटक छलफल गरिएको छ भने सुरक्षा व्यवस्थाका विषयमा नेपाल प्रहरीसँग समेत समन्वय गरिएको छ ।

इन्द्रजात्रा काठमाडौं उपत्यकाको प्रमुख सांस्कृतिक पर्वमध्ये एक हो । जात्राका क्रममा हनुमानढोकामा इन्द्रध्वजासहितको लिङ्गो ठड्याउने, कुमारी, गणेश र भैरवको रथयात्रा तथा विभिन्न परम्परागत नाच प्रस्तुत गर्ने गरिन्छ ।

भक्कुनाच, महाकाली नाच, लाखेनाच, दशअवतार तथा देवराज इन्द्रको वाहन ऐरावत हात्तीको प्रतीक मानिने पुलुकिसी नाच इन्द्रजात्राका प्रमुख आकर्षण हुन् । लिङ्गो ठड्याएपछि सुरु हुने जात्रा इन्द्रध्वज पातन गरेपछि विधिवत् रूपमा समापन गर्ने परम्परा छ ।

प्रतिक्रियाहरू ()

कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया पोस्ट गर्नुहोस्!

आफ्नो प्रतिक्रिया छोड्नुहोस्