सुदूरपश्चिम प्रदेश जडीबुटीको ठूलो भण्डार भए पनि त्यसको व्यावसायिक उपयोग र मूल्य अभिवृद्धिमा प्रदेश सरकारले अपेक्षित काम गर्न सकेको छैन। जंगलमा बहुमूल्य जडीबुटी प्रशस्त पाइने भए पनि प्रदेशमै प्रशोधन केन्द्र र आयुर्वेद औषधि उत्पादन उद्योग नहुँदा कच्चा पदार्थ सस्तोमा बाहिरिने र त्यहीबाट बनेका महँगा औषधि पुनः प्रदेशमा भित्रिने अवस्था कायम छ।
नेपाल सरकारको व्यापार तथा निकासी प्रवर्द्धन केन्द्रको प्रतिवेदनअनुसार सुदूरपश्चिममा वार्षिक करिब ६ हजार २७१ मेट्रिक टन जडीबुटी संकलन गर्न सकिने सम्भावना छ। यसको औसत निर्यात मूल्यलाई आधार मान्दा प्रदेशबाट वार्षिक करिब १ अर्ब २४ करोड रुपैयाँ बराबरको जडीबुटी निकासी गर्न सकिने अनुमान छ।
बझाङ, डोटी, दार्चुला, अछाम, बाजुरा, डडेल्धुरा, बैतडी, कैलाली र कञ्चनपुरमा यार्सागुम्बा, पाँचऔँले, कुटकी, चिराइतो, जटामसी, सुगन्धवाल, टिमुर, गुर्जो, तेजपात, क्यामोमाइल, मेन्था, लेमनग्रासलगायतका जडीबुटी पाइन्छन्। तर प्रशोधन तथा उत्पादन उद्योग नहुँदा अधिकांश कच्चा पदार्थ अन्यत्र जाने गरेका छन्।
प्रादेशिक आयुर्वेद चिकित्सालय धनगढीका अनुसार प्रदेशका आयुर्वेद संस्थाहरूले मात्रै वार्षिक करोडौँ रुपैयाँका औषधि बाहिरबाट खरिद गरिरहेका छन्। चिकित्सालयले आर्थिक वर्ष २०८२/८३ मा करिब ३२ लाख रुपैयाँको जडीबुटीजन्य कच्चा पदार्थ खरिद गरी त्यसबाट १ करोड रुपैयाँभन्दा बढी बजार मूल्यका औषधि उत्पादन गरेको जनाएको छ। यसले प्रदेशमै औषधि उत्पादन सम्भव रहेको देखाएको छ।
जानकारहरूका अनुसार जडीबुटीलाई प्रशोधन गरी औषधि तथा हर्बल उत्पादनमा रूपान्तरण गर्दा मूल्य कैयौँ गुणासम्म बढाउन सकिन्छ। उदाहरणका लागि अमला, गुर्जो, क्यामोमाइल, मेन्था, तेजपात र दालचिनी प्रशोधनबाट उल्लेख्य मूल्य अभिवृद्धि गर्न सकिन्छ।
प्रदेश सरकारले दोस्रो पञ्चवर्षीय योजनामा जडीबुटी प्रशोधन उद्योग, गुणस्तर परीक्षण प्रयोगशाला, ब्रान्डिङ, प्याकेजिङ तथा निर्यात प्रवर्द्धनलाई प्राथमिकतामा राखेको छ। अब योजना र छलफललाई व्यवहारमा उतार्दै प्रारम्भिक चरणमै ४–५ करोड रुपैयाँ लगानीबाट प्रशोधन तथा औषधि उत्पादनको काम सुरु गर्न सकिने विज्ञहरूको सुझाव छ।
प्रतिक्रियाहरू (०)
कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया पोस्ट गर्नुहोस्!
आफ्नो प्रतिक्रिया छोड्नुहोस्