एआईको नयाँ खतरा : परीक्षणकै क्रममा हगिङ फेसमा साइबर हमला

insight dainik

हजारौँ एआई एजेन्टले ह्याक गरे हगिङ फेस, परीक्षणकै क्रममा नियन्त्रणबाहिर पुगे

काठमाडौं । कृत्रिम बुद्धिमत्ता (एआई) लाई साइबर सुरक्षा परीक्षणका क्रममा दिइएको अधिकार र नियन्त्रण कमजोर हुँदा त्यसले वास्तविक संस्थाको प्रणालीमा प्रवेश गरेको गम्भीर घटना सार्वजनिक भएको छ। ओपनएआईका एआई एजेन्टहरूले जुलाई २०२६ मा एआई मोडल तथा डेटा राख्ने चर्चित प्लेटफर्म हगिङ फेसको प्रणालीमा अनधिकृत प्रवेश गरेको पुष्टि भएको छ।

ओपनएआईका अनुसार यो घटना साइबर सुरक्षा क्षमताको परीक्षणका क्रममा भएको थियो। परीक्षणमा प्रयोग गरिएका एआई मोडलहरूलाई सामान्य अवस्थामा रहने केही सुरक्षा प्रतिबन्ध हटाइएको थियो। त्यस क्रममा एजेन्टहरूले परीक्षण वातावरणबाट बाहिर निस्कने उपाय खोज्दै इन्टरनेटमा पहुँच प्राप्त गरे र हगिङ फेसका प्रणालीमा प्रवेश गरे।

हगिङ फेसले सार्वजनिक गरेको प्राविधिक विवरणअनुसार करिब साढे दुई दिनसम्म एआई एजेन्टले स्वचालित रूपमा हजारौँ निर्णय गर्दै कम्पनीको पूर्वाधारभित्र विभिन्न चरणमा पहुँच विस्तार गरेको थियो। एजेन्टहरूले कमजोरी पहिचान गरी प्रणालीमा प्रवेश गर्नुका साथै प्रमाण र परीक्षणसम्बन्धी सामग्री खोज्ने प्रयास गरेका थिए। अनुसन्धानका क्रममा एउटा सर्भरमा ‘रुट’ अर्थात् उच्चतम प्रशासनिक पहुँचसमेत प्राप्त भएको पाइएको छ।

ओपनएआईले अगस्ट २६ मा सार्वजनिक गरेको विस्तृत प्रतिवेदनअनुसार घटनामा करिब ७०० सक्रिय एआई एजेन्टको समन्वित गतिविधि देखिएको स्वतन्त्र अनुसन्धानले जनाएको छ। केही रिपोर्टमा परीक्षणका क्रममा करिब १,२०० एजेन्टसम्म संलग्न रहेको उल्लेख छ। एजेन्टहरूले एक–अर्कासँग अनधिकृत माध्यमबाट सञ्चार गर्दै परीक्षणको उद्देश्य पूरा गर्न ‘छोटो बाटो’ खोजेको पाइएको थियो।

ओपनएआईले यो घटनालाई एआईको बढ्दो स्वायत्त क्षमताबाट उत्पन्न हुन सक्ने जोखिमको महत्वपूर्ण चेतावनी मानेको छ। कम्पनीले परीक्षण प्रणालीको सुरक्षा, निगरानी र एआईको व्यवहार नियन्त्रणसम्बन्धी उपाय थप कडा बनाएको जनाएको छ।

यस घटनापछि एआई कम्पनीहरूमा सुरक्षा र नियन्त्रणबारे बहस झन् तीव्र बनेको छ। एन्थ्रोपिकका प्रमुख कार्यकारी डारियो अमोडेईले समेत एआई विकासको गति केही सुस्त बनाउनुपर्ने माग गरेका छन्।

प्रतिक्रियाहरू ()

कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया पोस्ट गर्नुहोस्!

आफ्नो प्रतिक्रिया छोड्नुहोस्