दिल्लीमा ब्रिक्सको शक्ति प्रदर्शन, मोदी–सी–पुटिन भेटले तान्यो विश्वको ध्यान

insight dainik

भारतको राजधानी नयाँदिल्लीमा शनिबारदेखि १८औँ ब्रिक्स शिखर सम्मेलन सुरु हुँदैछ। दुईदिने सम्मेलनमा विश्व राजनीतिका प्रभावशाली नेताहरू सहभागी हुने भएपछि दिल्ली अन्तर्राष्ट्रिय कूटनीतिको केन्द्र बनेको छ।

सम्मेलनको मुख्य आकर्षण भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी, रुसी राष्ट्रपति भ्लादिमीर पुटिन र चिनियाँ राष्ट्रपति सी चिनफिङबीचको भेटलाई मानिएको छ। चार वर्षपछि यी तीन नेता एउटै मञ्चमा देखिन लागेका हुन्। पुटिन सम्मेलनअघि नै दिल्ली पुगिसकेका छन् भने चिनियाँ राष्ट्रपति सी शनिबार भारत आउने कार्यक्रम छ।

विशेषगरी भारत–चीन सम्बन्धका दृष्टिले सीको भारत भ्रमणलाई महत्त्वपूर्ण मानिएको छ। सन् २०२० को गलवान झडपपछि दुई देशबीच लामो समय सीमा तनाव कायम रह्यो। अहिले भने सीमा क्षेत्रमा तनाव घटाउने तथा द्विपक्षीय सम्बन्ध सुधार गर्ने प्रयास भइरहेका छन्। मोदी र सीबीच शनिबार साँझ द्विपक्षीय वार्ता हुने कार्यक्रम छ।

भारत र चीनबीच राजनीतिक सम्बन्धसँगै व्यापार पनि महत्वपूर्ण विषय बनेको छ। चीनबाट ठूलो परिमाणमा आयात गर्ने भारतको व्यापार घाटा उच्च रहेकाले आर्थिक असन्तुलनका विषयमा समेत छलफल हुने अपेक्षा गरिएको छ।

यसपटकको ब्रिक्स सम्मेलनमा ११ सदस्य राष्ट्रसँगै १० साझेदार देशका प्रतिनिधि सहभागी हुँदैछन्। विश्व जनसंख्याको झन्डै आधा हिस्सा र विश्व अर्थतन्त्रको ठूलो हिस्सा समेट्ने भएकाले ब्रिक्सलाई उदाउँदो शक्तिहरूको प्रभावशाली समूहका रूपमा हेरिन्छ।

सम्मेलनमा अमेरिकी डलरमाथिको निर्भरता घटाउने, स्थानीय मुद्रामा कारोबार बढाउने तथा डिजिटल भुक्तानी प्रणालीलाई आपसमा जोड्ने विषय पनि प्राथमिकतामा छन्। यद्यपि सदस्य राष्ट्रहरूबीच अमेरिका र विश्व राजनीतिका विषयमा समान धारणा छैन।

ब्रिक्स विस्तारसँगै यसको प्रभाव बढे पनि सदस्य राष्ट्रका फरक–फरक रणनीतिक हितले समूहभित्र चुनौतीसमेत थपिएको छ। दिल्ली सम्मेलनले यी मतभेदबीच साझा आर्थिक तथा कूटनीतिक एजेन्डा अघि बढाउन कस्तो बाटो रोज्छ भन्नेमा अन्तर्राष्ट्रिय समुदायको ध्यान केन्द्रित भएको छ।

प्रतिक्रियाहरू ()

कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया पोस्ट गर्नुहोस्!

आफ्नो प्रतिक्रिया छोड्नुहोस्