यमनमा सक्रिय इरानसमर्थित हुथी विद्रोहीले लालसागरको दक्षिणी प्रवेशद्वार मानिने बाब अल–मन्देब जलडमरूमध्यमा आफ्नो नियन्त्रण विस्तार गरेका छन्। पछिल्लो सैन्य कारबाहीमा हुथीले रणनीतिक रूपमा महत्वपूर्ण मयुन अर्थात् पेरिम द्वीप कब्जा गरेपछि जलडमरूमध्यको महत्वपूर्ण भाग उनीहरूको नियन्त्रणमा पुगेको हो।
यसअघि हुथीले लालसागर किनारको महत्वपूर्ण बन्दरगाह सहर मोखा पनि कब्जा गरेका थिए। त्यससँगै उनीहरूले दक्षिणी लालसागरमा रहेको जुकर द्वीप तथा धुबाब क्षेत्रमाथि पनि नियन्त्रण बढाएका छन्। यमनका सरकारी सेना पछि हटेपछि हुथी लडाकुहरू पेरिम द्वीपमा प्रवेश गरेको अधिकारीहरूले बताएका छन्।
पेरिम द्वीप बाब अल–मन्देबको साँघुरो भागको बीचमा अवस्थित छ। यसले लालसागरलाई अरब सागर र हिन्द महासागरतर्फ जोड्ने महत्वपूर्ण समुद्री मार्गलाई निगरानी गर्न सक्ने रणनीतिक क्षमता राख्छ। विश्वको करिब १२ प्रतिशत व्यापारिक सामान सामान्य अवस्थामा यही जलडमरूमार्फत आवतजावत गर्ने भएकाले हुथीको नियन्त्रणले अन्तर्राष्ट्रिय व्यापार र ऊर्जा आपूर्तिमा चिन्ता बढाएको छ।
हुथीको पछिल्लो विस्तारपछि साउदी अरबले मोखा विमानस्थलमा हवाई हमला गरेको छ। साउदी अरबका लागि यो समुद्री मार्ग झन् महत्वपूर्ण छ, किनकि क्षेत्रीय तनावका कारण अन्य प्रमुख समुद्री मार्ग प्रभावित भइरहेका बेला लालसागर हुँदै हुने तेल ढुवानीमा उसको निर्भरता बढेको छ।
यद्यपि हुथीले पूरै लालसागर कब्जा गरेका भने होइनन्। उनीहरूले यमनतर्फको लालसागर तट र बाब अल–मन्देबको महत्वपूर्ण रणनीतिक क्षेत्रमा नियन्त्रण जमाएका हुन्। यसको प्रभाव भने विश्वव्यापी तेल आपूर्ति, जहाजको ढुवानी खर्च र एसिया–युरोप व्यापारसम्म पर्न सक्ने देखिएको छ।
प्रतिक्रियाहरू (०)
कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया पोस्ट गर्नुहोस्!
आफ्नो प्रतिक्रिया छोड्नुहोस्