लेखापढी व्यवसायीहरू आन्दोलित, सेवा बन्द गर्ने चेतावनी

ललितपुर। नेपाल लेखापढी कानुन व्यवसायी एसोसिएसन, पाटन इकाइ समितिले लेखापढी व्यवसायीहरूमाथि बढ्दो अवरोधप्रति गम्भीर आपत्ति जनाउँदै आवश्यक परे सेवा बन्द गर्ने चेतावनी दिएको छ। समितिले जारी गरेको सूचनामा कानुन व्यवसायी परिषद् ऐन २०५० तथा लेखापढी व्यवसायी सम्बन्धी नियमावली २०७१ अनुसार प्रमाणपत्र प्राप्त व्यवसायीहरूले आफ्नो पेशा सञ्चालन गर्न पाउने स्पष्ट व्यवस्था भए पनि व्यवहारमा विभिन्न निकायबाट अवरोध भइरहेको उल्लेख गरिएको छ।

सूचनाअनुसार मालपोत कार्यालय ललितपुरमा कार्यरत लेखापढी व्यवसायीहरूलाई प्रहरी प्रशासनमार्फत अनावश्यक धरपकड तथा नियन्त्रणमा लिने कार्य भएको भन्दै त्यसप्रति कडा आपत्ति जनाइएको छ। यस्तो गतिविधिले पेशागत मर्यादा र कानुनी अधिकारमाथि ठेस पुगेको एसोसिएसनको भनाइ छ।

समितिले भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालय अन्तर्गतका निकायबाट जारी निर्देशिकाको नाममा व्यवसायीहरूको काममा हस्तक्षेप गरिएको आरोप लगाएको छ। यसले सेवाग्राहीलाई समेत असर पर्ने भन्दै तत्काल यस्ता गतिविधि बन्द गर्न सम्बन्धित निकायसँग माग गरिएको छ।

यदि समस्या समाधान नभए सम्पूर्ण लेखापढी व्यवसायीहरू एकजुट भई भूसेवा केन्द्र लगायतका सेवा बन्द गरेर आन्दोलनमा उत्रिने चेतावनी दिइएको छ। समितिले सबै सदस्यलाई एकताबद्ध भई आन्दोलनमा साथ दिन समेत आग्रह गरेको छ।