दुबईमा आधुनिक यातायात प्रणाली विस्तार गर्ने योजना अन्तर्गत पहिलो एयर ट्याक्सी स्टेशन निर्माण सम्पन्न भएको छ। दुबईका राजकुमार Sheikh Hamdan ले उक्त परियोजनाको प्रगति समीक्षा गरेका हुन्। यो स्टेशन दुबई अन्तर्राष्ट्रिय विमानस्थल नजिक निर्माण गरिएको हो र विद्युतीय “eVTOL” (vertical take-off and landing) विमानका लागि विशेष रूपमा डिजाइन गरिएको छ।
करिब ३,१०० वर्ग मिटर क्षेत्रफलमा फैलिएको यस स्टेशनमा दुईवटा ल्यान्डिङ प्याड, चार्जिङ सुविधा, दुईतले पार्किङ र यात्रुका लागि आधुनिक सेवा संरचना रहेका छन्। प्रारम्भिक चरणमा वार्षिक करिब १ लाख ७० हजार यात्रुलाई सेवा दिने लक्ष्य राखिएको छ। एयर ट्याक्सी सञ्चालन भएपछि दुबई विमानस्थलदेखि पाम जुमेराहसम्मको यात्रा समय करिब ४५ मिनेटबाट घटेर १० मिनेटमा सीमित हुने अपेक्षा गरिएको छ।
यो परियोजना Skyports Infrastructure, Roads and Transport Authority र Joby Aviationको सहकार्यमा विकास भइरहेको हो। एयर ट्याक्सी सेवा सञ्चालन र नियमनका लागि आवश्यक परीक्षण तथा प्रमाणिकरण प्रक्रिया अघि बढिरहेको छ।
दुबईले भविष्यमा डाउनटाउन, पाम जुमेराह र दुबई मरिनामा थप स्टेशन विस्तार गर्दै स्मार्ट र दिगो यातायात प्रणाली विकास गर्ने लक्ष्य लिएको छ।