अन्तरिक्ष दौडमा मिश्रित नतिजा: प्रक्षेपण सफल, मिशन अधूरो

nepal news portal

अमेरिकी अन्तरिक्ष कम्पनी Blue Origin ले आफ्नो शक्तिशाली New Glenn रकेटको तेस्रो प्रक्षेपण सफलतापूर्वक सम्पन्न गरेको छ। आइतबार बिहान फ्लोरिडास्थित केप क्यानाभेरलबाट प्रक्षेपण गरिएको उक्त रकेटले आफ्नो पुनःप्रयोग गर्न मिल्ने बुस्टरलाई सफलतापूर्वक अटलान्टिक महासागरमा रहेको ‘ज्याक्लिन’ ड्रोन जहाजमा अवतरण गराएको थियो। “Never Tell Me The Odds” नाम दिइएको उक्त बुस्टरको यो दोस्रो सफल अवतरण हो।

तर, प्रक्षेपणको मुख्य उद्देश्य भने पूर्ण रूपमा सफल हुन सकेन। रकेटले बोकेको AST SpaceMobile को ब्लूबर्ड–७ स्याटेलाइट अपेक्षित कक्षाभन्दा तलको कक्षामा पुगेको कम्पनीले जनाएको छ। स्याटेलाइट सुरक्षित रूपमा छुट्टिएको र सक्रिय भएको भए पनि यसको उचाइ पर्याप्त नभएकाले दीर्घकालीन सञ्चालन सम्भव नहुने र अन्ततः डि-अर्बिट गरिने बताइएको छ। यसबाट भएको क्षति बीमा मार्फत व्यहोर्ने कम्पनीले जनाएको छ।

ब्लूबर्ड–७ स्याटेलाइट अन्तरिक्षमार्फत सिधै मोबाइल फोनमा सेवा दिने सेलुलर ब्रडब्यान्ड नेटवर्कको हिस्सा हो। यो परियोजनाअन्तर्गत कम्पनीले सन् २०२६ भित्र करिब ४५ स्याटेलाइट कक्षामा राख्ने लक्ष्य लिएको छ। आगामी महिनामा ब्लूबर्ड–८, ९ र १० प्रक्षेपणका लागि तयार हुने अपेक्षा गरिएको छ।

न्यू ग्लेन रकेट Jeff Bezos को कम्पनी Blue Origin ले बिकास गरेको हो, जसले SpaceX सँग प्रतिस्पर्धा गर्दै व्यावसायिक अन्तरिक्ष प्रक्षेपण बजारमा आफ्नो उपस्थिति बलियो बनाउन खोजिरहेको छ। पुनःप्रयोग योग्य बुस्टरको सफल अवतरणलाई ठूलो उपलब्धि मानिए पनि स्याटेलाइट सही कक्षामा राख्न नसक्नु कम्पनीका लागि चुनौतीको रूपमा देखिएको छ।

कम्पनीले भविष्यमा नासाको Artemis Program अन्तर्गत चन्द्रमामा मानव उपस्थितिलाई सघाउने लक्ष्यसहित Lunar Lander विकास पनि गरिरहेको छ।