ओपनएआई–माइक्रोसफ्ट साझेदारीमा ठूलो परिवर्तन

nepal news portal

काठमाडौं । कृत्रिम बुद्धिमत्ता (AI) क्षेत्रमा महत्वपूर्ण परिवर्तन आएको छ। OpenAI र Microsoft बीचको लामो समयदेखिको सहकार्य अब नयाँ मोडमा प्रवेश गरेको छ। दुवै कम्पनीले आफ्नो साझेदारीलाई परिमार्जन गर्दै एकाधिकार ब्यबस्था अन्त्य गर्ने निर्णय गरेका छन्।

नयाँ सहमतिअनुसार OpenAI ले अब आफ्ना उन्नत एआई मोडेल तथा प्रविधिहरू अन्य क्लाउड सेवा प्रदायकमार्फत पनि उपलब्ध गराउन पाउनेछ। यसअघि भने यस्ता सेवा मुख्य रूपमा Microsoft Azure मा मात्र सीमित जस्तै थिए।

यद्यपि, Microsoft अझै पनि OpenAI को प्रमुख क्लाउड साझेदारकै रूपमा रहनेछ। कम्पनीका नयाँ प्रविधिहरू पहिले जस्तै Azure प्लेटफर्ममै प्राथमिक रूपमा सार्वजनिक गरिने जनाइएको छ।

Sam Altman ले अब एआई सेवाहरूलाई विश्वव्यापी रूपमा विस्तार गर्ने रणनीति अपनाइएको बताएका छन्। उनका अनुसार, विभिन्न क्लाउड प्लेटफर्ममार्फत सेवा उपलब्ध गराउँदा प्रयोगकर्ता पहुँच अझ व्यापक हुने अपेक्षा गरिएको छ।

सम्झौताको अर्को महत्वपूर्ण पक्ष वित्तीय व्यवस्थासँग सम्बन्धित छ। नयाँ प्रबन्धअनुसार Microsoft ले अब OpenAI लाई प्रत्यक्ष आम्दानी हिस्सा तिर्नुपर्ने छैन। तर OpenAI ले भने सन् २०३० सम्म Microsoft लाई निश्चित सीमासहित आम्दानीको केही अंश तिर्नेछ। साथै, Microsoft सँग OpenAI का प्रविधि प्रयोग गर्ने लाइसेन्स सन् २०३२ सम्म कायम रहनेछ।

दुवै कम्पनीले सन् २०१९ देखि सहकार्य गर्दै आएका छन्। यस अवधिमा एआई क्षेत्रमा उल्लेखनीय प्रगति भएको छ। तर नयाँ परिवर्तनसँगै OpenAI ले आफ्नो प्रविधि प्रयोगको दायरा फराकिलो बनाउँदै प्रतिस्पर्धात्मक र खुला बजारतर्फ उन्मुख हुने संकेत दिएको छ।

विशेषज्ञहरूका अनुसार, यस निर्णयले एआई उद्योगमा प्रतिस्पर्धा बढाउने, नवप्रवर्तनलाई तीव्र बनाउने र सेवाहरूलाई अझ पहुँचयोग्य बनाउने अपेक्षा गरिएको छ ।