काठमाडौँ । द हिडन ट्रेजरले ‘मिस नेपाल २०२६’ प्रतियोगिताका लागि औपचारिक रूपमा आवेदन खुला गरेको छ। आयोजकले नेपालभित्र तथा विदेशमा बसोबास गरिरहेका नेपाली युवतीहरूलाई प्रतियोगितामा सहभागी हुन आह्वान गरेको हो। आवेदन दिने अन्तिम मिति जेठ २५ गतेसम्म तोकिएको छ।
यस वर्षको ग्राण्ड फिनाले आगामी साउन १६ गते ललितपुरको पुल्चोकस्थित द प्लाजामा आयोजना गरिने कार्यक्रम रहेको आयोजकले जनाएको छ। प्रतियोगिताको प्रत्यक्ष प्रसारण हिमालयन टेलिभिजनमार्फत गरिनेछ।
प्रतियोगितामा सहभागी हुन इच्छुक युवतीको न्यूनतम उचाइ ५ फिट ३ इन्च तथा उमेर १८ देखि २७ वर्षभित्र हुनुपर्ने मापदण्ड राखिएको छ। आवेदकसँग नेपाली नागरिकता अनिवार्य रहनेछ भने विदेशमा रहेका नेपालीहरूले एनआरएन कार्डका आधारमा पनि आवेदन दिन सक्ने व्यवस्था गरिएको छ। आयोजकका अनुसार आवेदन दर्ता निःशुल्क हुनेछ।
यस संस्करणमा मिस नेपाल वर्ल्ड, मिस नेपाल कोस्मो र मिस नेपाल इन्टरनेशनल गरी तीन विधामा विजेता घोषणा गरिनेछ। प्रतियोगितालाई अझ आकर्षक र व्यवस्थित बनाउन विभिन्न व्यावसायिक कम्पनीहरूलाई प्रायोजकका रूपमा सहभागी गराइएको आयोजकले जनाएको छ।
प्रतिभा खोज अभियान अन्तर्गत विराटनगर, इटहरी, पोखरा, बुटवल, नेपालगञ्ज र जनकपुरलगायत सहरमा अडिसन सञ्चालन गरिनेछ। साथै काठमाडौंका विभिन्न कलेजहरूमा ‘मिस नेपाल एक्टिभेसन’ कार्यक्रम पनि आयोजना गरिने तयारी छ।
अन्तिम अडिसन जेठ २९ गते काठमाडौंमा हुनेछ। त्यसपछि छनोट भएका प्रतिस्पर्धीलाई व्यक्तित्व विकास, सञ्चार कला, प्रस्तुतिकरण तथा ग्रुमिङसम्बन्धी विशेष प्रशिक्षण दिइने आयोजकले जनाएको छ।
न्यूनतम योग्यता
उमेर १८ देखि २७ वर्षभित्र हुनुपर्ने
न्यूनतम उचाइ ५ फिट ३ इन्च हुनुपर्ने
नेपाली नागरिकता अनिवार्य
विदेशमा रहेका नेपालीका लागि एनआरएन कार्ड मान्य
आवेदन निःशुल्क हुने