एआई प्रयोग बढेसँगै स्ट्यान्डर्ड चार्टर्डले हजारौँ कर्मचारी कटौती गर्ने, विश्व बैंकिङ क्षेत्रमा रोजगारी संकट गहिरिँदै

nepal news portal

बेलायत मुख्यालय रहेको बहुराष्ट्रिय बैंक Standard Chartered ले कृत्रिम बौद्धिकता (एआई) को प्रयोग तीव्र रूपमा बढाउँदै लैजाने योजनासँगै हजारौँ कर्मचारी कटौती गर्ने घोषणा गरेको छ। बैंकले सन् २०३० सम्म आफ्ना ब्याक-अफिस क्षेत्रमा कार्यरत १५ प्रतिशतभन्दा बढी कर्मचारी घटाउने योजना सार्वजनिक गरेको हो। यसअन्तर्गत करिब ७ हजार ८ सय रोजगारी प्रभावित हुने अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन्।

बैंकका प्रमुख कार्यकारी अधिकृत Bill Winters को नयाँ रणनीतिअन्तर्गत एआई, अटोमेसन र एडभान्स्ड डेटा एनालिटिक्सको प्रयोग बढाइने बताइएको छ। कम्पनीले प्रक्रिया छिटो बनाउने, निर्णय क्षमता सुधार गर्ने तथा ग्राहक सेवा प्रभावकारी बनाउने उद्देश्यले एआईमा ठूलो लगानी गरिरहेको जनाएको छ।

यद्यपि, कम्पनीले कुन देशका कर्मचारी बढी प्रभावित हुनेछन् भन्ने खुलाएको छैन। भारत, चीन, मलेसिया र पोल्याण्डमा बैंकका ठूला ब्याक-अफिस सञ्चालन केन्द्र रहेकाले ती क्षेत्रका रोजगारीमा असर पर्ने अनुमान गरिएको छ। बीबीसीका अनुसार केही कर्मचारीलाई कम्पनीभित्रकै अन्य भूमिकामा स्थानान्तरण गर्ने तयारी पनि भइरहेको छ।

विश्वभर एआईको प्रयोग बढेसँगै वित्तीय तथा प्रविधि क्षेत्रमा व्यापक रोजगारी कटौतीको लहर देखिएको छ। यसअघि DBS Bank ले पनि आगामी तीन वर्षभित्र करिब ४ हजार अस्थायी तथा करार कर्मचारी हटाउने घोषणा गरेको थियो। त्यस्तै Meta, Amazon र Oracle जस्ता ठूला प्रविधि कम्पनीहरूले पनि एआई पूर्वाधारमा ठूलो लगानी गर्दै हजारौँ कर्मचारी कटौती गरिसकेका छन्।

विशेषज्ञहरूले एआईको तीव्र विस्तारले विशेषगरी प्रविधि तथा प्रशासनिक क्षेत्रमा काम गर्ने कर्मचारी र नयाँ स्नातकहरू बढी जोखिममा पर्ने चेतावनी दिएका छन्। आगामी वर्षहरूमा एआईले परम्परागत कार्यालय तथा ब्याक-अफिस कामको स्वरूप नै परिवर्तन गर्ने विश्लेषण गरिएको छ।