पाकिस्तानले मध्यपूर्वमा बढ्दो तनावका बीच साउदी अरबतर्फ आफ्नो सैन्य उपस्थिति विस्तार गरेको दाबी गरिएको छ।
thedefensewatch.com मा प्रकाशित रिपोर्टअनुसार पाकिस्तानले साउदी अरबमा करिब १६ वटा JF-17 Thunder लडाकु विमान, ड्रोन स्क्वाड्रन, तथा चिनियाँ निर्मित HQ-9 Air Defense System हवाई प्रतिरक्षा प्रणाली पठाएको बताइएको छ। साथै करिब ८ हजार पाकिस्तानी सैनिक पनि तैनाथ गरिएको उल्लेख गरिएको छ।
रिपोर्टमा पाकिस्तान र साउदी अरबबीच गत वर्ष गोप्य रक्षा सम्झौता भएको दाबी गरिएको छ। यसअन्तर्गत आवश्यक परे थप ८० हजार सैनिकसम्म पठाउन सकिने उल्लेख छ। विश्लेषकहरूका अनुसार यस कदमले साउदी–पाकिस्तान रक्षा सम्बन्धलाई नयाँ स्तरमा पुर्याएको छ। विगतमा प्रशिक्षण र परामर्शमा सीमित रहेको सहकार्य अहिले प्रत्यक्ष सैन्य तैनाथीसम्म पुगेको देखिएको छ।
विशेषगरी JF-17 Thunder को विदेशमा परिचालनलाई पाकिस्तानले आफ्नो सैन्य क्षमताको प्रदर्शनका रूपमा पनि हेरिएको छ। चीनसँग संयुक्त रूपमा विकसित यो विमान कम लागतमा बहुउद्देश्यीय युद्ध सञ्चालन गर्न सक्षम मानिन्छ। त्यस्तै HQ-9 Air Defense System को प्रयोगले साउदी अरबको ड्रोन तथा मिसाइल प्रतिरक्षा क्षमता बलियो बनाउने अपेक्षा गरिएको छ।
यसै बीच अमेरिकाले आज इरानमाथि आक्रमण नगर्ने संकेत दिएको छ। अमेरिकी राष्ट्रपति Donald Trump ले इरानसँग वार्ता जारी रहेकाले योजनाबद्ध आक्रमण स्थगित गरिएको बताएका छन्।
यद्यपि मध्यपूर्व तनाव पूर्ण रूपमा अन्त्य भइसकेको छैन। अमेरिका, इरान, साउदी अरब तथा खाडी राष्ट्रहरूबीचको सुरक्षा अवस्था अझै संवेदनशील रहेको अन्तर्राष्ट्रिय विश्लेषकहरूले बताएका छन्।