धरानमा एम्बुलेन्समार्फत ठूलो परिमाणमा गाँजा ओसारपसार गरिएको घटना सार्वजनिक भएपछि कोशी प्रदेशमा लागुऔषध तस्करीको नयाँ शैलीबारे गम्भीर प्रश्न उठेको छ। केही दिनअघि धरान–१८ क्षेत्रमा रोकिराखिएको एम्बुलेन्सबाट प्रहरीले करिब ४ सय ४० किलो गाँजा बरामद गरेको थियो। घटनास्थलबाट चालक भने फरार भएका थिए।
प्रहरी अनुसन्धानअनुसार तस्कर समूहले सुरक्षा जाँच सहज रूपमा पार गर्न सकिने भएकाले एम्बुलेन्सलाई प्रयोग गर्न थालेका हुन्। विशेषगरी रातको समयमा साइरन बजाउँदै तीव्र गतिमा चल्ने एम्बुलेन्समाथि कम शंका गरिने भएकाले अवैध कारोबारमा संलग्न समूहले त्यसको दुरुपयोग गरिरहेको देखिएको छ।
यो पहिलो घटना भने होइन। केही महिनाअघि पनि भेडेटार नजिकै अर्को एम्बुलेन्सबाट ठूलो परिमाणमा गाँजा बरामद गरिएको थियो। दुवै घटनामा चालक फरार हुन सफल भएका छन्। लगातार एम्बुलेन्स प्रयोग गरेर गाँजा तस्करी भइरहनुले प्रहरीको निगरानी र नियन्त्रण प्रणालीमाथि चुनौती थपिएको छ।
कोशी प्रदेशका धनकुटा, भोजपुर, संखुवासभा लगायत पहाडी जिल्लामा गाँजा उत्पादन हुने गरेको प्रहरीको भनाइ छ। त्यहाँबाट संकलन गरिएको गाँजा तराई हुँदै भारततर्फ लैजाने गरिएको अनुमान गरिएको छ। पछिल्ला वर्षमा प्रहरीले हजारौं किलो गाँजा बरामद गरे पनि तस्करी नियन्त्रण प्रभावकारी हुन नसकेको देखिएको छ।
प्रहरीले प्रत्येक वर्ष गाँजा फडानी अभियान सञ्चालन गर्दै आएको छ। ठूलो संख्यामा गाँजाका बोट नष्ट गरिएको दाबी गरिए पनि अवैध कारोबार भने रोकिएको छैन। जानकारहरूका अनुसार गाँजा खेती नष्ट गर्नु मात्र पर्याप्त नभई उत्पादनदेखि ओसारपसारसम्म संलग्न सञ्जालमाथि कडा कानुनी कारबाही आवश्यक छ।
एम्बुलेन्सजस्तो संवेदनशील सेवाको दुरुपयोग हुन थालेपछि सर्वसाधारणमा समेत अविश्वास बढ्ने खतरा देखिएको छ। प्रहरीले संवेदनशील नाका र शंकास्पद सवारीमाथि निगरानी बढाइएको जनाएको छ। साथै, एम्बुलेन्स प्रयोग गरेर हुने अवैध गतिविधिमाथि कडा कारबाही गरिने चेतावनी पनि दिएको छ।