मोरङ, ४ जेठ – लोपोन्मुख राउटे समुदायको मौलिक संस्कृति, परम्परा र जीवनशैलीलाई नजिकबाट चिनाउने उद्देश्यले मोरङको मिक्लाजुङ गाउँपालिका–३ नेसेलुङमा विशेष सांस्कृतिक मेला सुरु गरिएको छ। एक सातासम्म सञ्चालन हुने उक्त मेलाले स्थानीयसँगै पूर्वका विभिन्न जिल्लाबाट आएका आगन्तुकको ध्यान आकर्षित गरेको छ।
कर्णाली प्रदेशबाट आएका करिब २५ जना राउटे समुदायका सदस्य सहभागी रहेको मेलामा उनीहरूको परम्परागत रहनसहन, भाषा, संस्कार तथा जीविकोपार्जनका गतिविधि प्रस्तुत गरिएको छ। जंगलमै आश्रित भएर घुमन्ते जीवन बिताउने राउटे समुदायको वास्तविक जीवनशैली प्रत्यक्ष देख्न पाउँदा दर्शक उत्साहित बनेका छन्।
मेलाको मुख्य आकर्षण राउटे समुदायले तयार गर्ने काठका सामग्री बनेका छन्। उनीहरूले बनाएका घरेलु प्रयोगका भाँडाकुँडा, सजावटका सामग्री तथा हस्तकलाका वस्तु प्रदर्शनीमा राखिनुका साथै बिक्री वितरण पनि भइरहेको छ। पुस्तौंदेखि हस्तान्तरण हुँदै आएको सीप र परम्परालाई संरक्षण गर्न यस्ता कार्यक्रम प्रभावकारी हुने आयोजकको विश्वास छ।
नेसेलुङ पर्यटन समितिका अध्यक्ष खगेन्द्र मादेनले राउटे समुदायको मौलिक पहिचानबारे नयाँ पुस्तालाई जानकारी गराउने उद्देश्यले मेला आयोजना गरिएको बताए। उनका अनुसार यसले पर्यटन विकासमा समेत टेवा पुर्याउने अपेक्षा गरिएको छ।
फनपार्क सञ्चालक अशोक चेम्जोङले राउटे समुदायसँगै स्थानीय लिम्बु संस्कृतिलाई पनि प्रवर्द्धन गर्ने प्रयास गरिएको जानकारी दिए। मेलास्थलमा विभिन्न जातीय परिकार, मनोरञ्जनात्मक खेल तथा सांस्कृतिक कार्यक्रमसमेत सञ्चालन भइरहेका छन्।
पूर्व प्रदेश सांसद कुशल साम्बाले नेसेलुङ क्षेत्रमा निर्माण गरिएको उल्टोघर, भ्यूटावर र चिल्ड्रेन पार्कले आन्तरिक पर्यटनलाई थप आकर्षित गरेको बताए। उनले संस्कृति र पर्यटनलाई सँगसँगै अघि बढाउँदा स्थानीय अर्थतन्त्र चलायमान हुने विश्वास व्यक्त गरे।
आधुनिकताको प्रभावले मौलिक संस्कृति हराउँदै गएको अवस्थामा नेसेलुङमा सुरु भएको यो मेला राउटे समुदायको पहिचान जोगाउने महत्वपूर्ण प्रयासका रूपमा हेरिएको छ।