प्रयागराजदेखि कानपुरसम्म २०० किमि भूमिगत नदी फेला, ‘सरस्वती नदी’ बहस फेरि चर्चामा

nepal news portal

भारतको उत्तर प्रदेशस्थित प्रयागराजदेखि कानपुरसम्म करिब २०० किलोमिटर लामो भूमिगत प्राचीन नदीको मार्ग फेला परेको वैज्ञानिक दाबीपछि ‘सरस्वती नदी’ सम्बन्धी बहस फेरि चर्किएको छ। भारतीय वैज्ञानिकहरूले गंगा र यमुना नदीभन्दा अलग स्वतन्त्र नदी प्रणालीको अवशेष हुन सक्ने विशाल ‘पेलियो–च्यानल’ अर्थात् पुरानो नदी मार्ग पत्ता लागेको बताएका हुन्।

CSIR-National Geophysical Research Institute का वैज्ञानिकहरूले अत्याधुनिक हेलिबोर्न ट्रान्जियन्ट इलेक्ट्रोम्याग्नेटिक (H-TEM) प्रविधि र ड्रिलिङ प्रयोग गरेर अनुसन्धान गरेका थिए। अध्ययनअनुसार यो भूमिगत नदी मार्ग जमिनको सतहभन्दा १० देखि १५ मिटर तल रहेको छ र यसको चौडाइ ४ देखि ५ किलोमिटरसम्म रहेको बताइएको छ। वैज्ञानिकहरूका अनुसार यसको आधार तह गंगा र यमुना नदीसँग मिल्दोजुल्दो देखिएकाले यसलाई सामान्य पुरानो खोला नभई छुट्टै नदी प्रणाली मान्न सकिने आधार भेटिएको हो।

अनुसन्धान सन् २०१२ मा सुरु भएको थियो। प्रारम्भिक सर्वेक्षणमा प्रयागराज र कौशाम्बीबीच ४५ किलोमिटर लामो भूमिगत मार्ग देखिएपछि थप विस्तृत अध्ययन गरिएको थियो। त्यसपछि गरिएको सर्वेक्षणमा यसको फैलावट कानपुरसम्म पुगेको पुष्टि भएको बताइएको छ। अध्ययनसम्बन्धी प्रतिवेदन सन् २०२१ मा वैज्ञानिक जर्नल Geophysical Research Letters मा प्रकाशित भएको थियो।

वैज्ञानिकहरूका अनुसार यो खोज धार्मिक वा ऐतिहासिक बहसभन्दा पनि पानी संकट समाधानका दृष्टिले महत्वपूर्ण हुन सक्छ। गंगाको मैदान क्षेत्रमा भू–जल स्तर लगातार घटिरहेका बेला यो भूमिगत नदी विशाल प्राकृतिक जलभण्डार (Aquifer) बन्न सक्ने विश्वास गरिएको छ। अनुसन्धान टोलीले यस क्षेत्रमा पुनर्भरण गर्न सकिने ६ स्थानसमेत पहिचान गरेको जनाएको छ।

यद्यपि वैज्ञानिकहरूले हालसम्म यसलाई प्रत्यक्ष रूपमा वैदिक साहित्यमा उल्लेख गरिएको ‘सरस्वती नदी’ भनेर पुष्टि गरेका छैनन्। तर, वैदिक वर्णनसँग मेल खाने भूगोलमा यस्तो नदी मार्ग फेला परेपछि सरस्वती नदीबारेको बहसले नयाँ मोड लिएको भारतीय सञ्चारमाध्यमहरूले जनाएका छन्।