युद्धबीच इरानमा गहिरियो तेल संकट, समुद्रमै तेल फाल्न बाध्य भएको आशंका

nepal news portal

काठमाडौं । अमेरिका र इजरायलसँग जारी तनाव र युद्धका बीच इरानले गम्भीर तेल संकटको सामना गरिरहेको छ। दैनिक ३० लाख ब्यारेलभन्दा बढी कच्चा तेल उत्पादन गर्दै आएको इरानमाथि अमेरिकी नौसेनाले होर्मुज जलडमरू र प्रमुख बन्दरगाहहरूमा कडा नाकाबन्दी लगाएपछि तेल निर्यात लगभग ठप्प बनेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन्।

अमेरिकी नाकाबन्दीका कारण इरानको खार्ग टापुस्थित मुख्य निर्यात टर्मिनल र तटीय भण्डारण केन्द्रहरू पूर्ण रूपमा भरिएका छन्। इरानले पुराना तेल ट्याङ्करलाई अस्थायी भण्डारणका रूपमा प्रयोग गरे पनि उत्पादन नरोकिँदा ती ट्याङ्करहरू समेत भरिएको बताइएको छ। विज्ञहरूका अनुसार तेल उत्पादन अचानक बन्द गर्दा भूमिगत भण्डारमा स्थायी क्षति पुग्न सक्ने भएकाले इरान उत्पादन जारी राख्न बाध्य भएको हो।

यही कारण इरानले अतिरिक्त तेल समुद्रमा विसर्जन गर्न थालेको आशंका गरिएको छ। युरोपेली अन्तरिक्ष एजेन्सीको सेन्टिनेल उपग्रह र राडार विश्लेषणमा फारसी खाडी र होर्मुज जलडमरू वरपर ठूलो मात्रामा तेल फैलिएको देखिएको छ। मे ६ मा खार्ग टापुको पश्चिम क्षेत्रमा झण्डै १२० वर्ग किलोमिटर क्षेत्रमा तेल फैलिएको उल्लेख गरिएको छ। कुवेतको तट, लावन टापु र केश्म टापु आसपास पनि यस्तै काला धब्बाहरू फेला परेको जनाइएको छ।

वैज्ञानिकहरूका अनुसार समुद्रमा फैलिएको तेलले समुद्री वातावरणमा गम्भीर असर पारिरहेको छ। कोरल चट्टान, समुद्री चरा र माछाहरू प्रभावित भएका छन् भने ओमानको तटमा ठूलो संख्यामा मरेका झिंगे माछा भेटिएको खबर आएको छ।

यसैबीच, नाकाबन्दीका बावजुद इरानले गोप्य रूपमा तेल बिक्री गर्ने प्रयास जारी राखेको बताइएको छ। अमेरिकी गुप्तचर निकायका अनुसार इन्डोनेसियाको रियाउ टापु नजिक जहाजबाट जहाजमा तेल सारेर चीनतर्फ पठाउने काम भइरहेको छ। यद्यपि, इरानी सरकारले यस विषयमा कुनै आधिकारिक प्रतिक्रिया दिएको छैन।