सप्तरीको तिलाठीमा भीषण आगलागी : एकै रात १३ घरगोठ जले

nepal news portal

सप्तरीको तिलाठी कोइलाडी गाउँपालिका–६ स्थित वभनगामा टोलमा गएराति भएको भीषण आगलागीबाट दर्जनभन्दा बढी घरगोठ जलेर नष्ट भएका छन्। स्थानीय बासिन्दा निद्रामै रहेका बेला अचानक फैलिएको आगोले गाउँभर त्रास फैलाएको हो। आगलागीमा परी छ परिवारका १० घर र तीन गाईगोठ पूर्ण रूपमा जलेर ध्वस्त भएका छन् भने लाखौँ रुपैयाँ बराबरको धनमाल नष्ट भएको प्रारम्भिक अनुमान गरिएको छ।

प्रहरीका अनुसार स्थानीय रामअवतार यादवको गाईगोठमा बालिएको घुरबाट आगो सल्किएको थियो। तीव्र हावासँगै फैलिएको आगोले रामअवतार यादवका दुई घर र एक गोठ, जुगाइ यादवका दुई घर र एक गोठ, अनिल यादवका दुई घर र एक गोठ तथा योगिन्द्र यादव, राजकुमार यादव र धीरेन्द्र यादवका घरमा क्षति पुर्‍याएको हो। आगलागीका कारण खाद्यान्न, लत्ताकपडा, फर्निचर, गरगहना र नगदसमेत जलेर नष्ट भएको जनाइएको छ।

जिल्ला प्रहरी कार्यालय सप्तरीले आगलागीबाट करिब ४५ लाख रुपैयाँभन्दा बढीको क्षति भएको प्रारम्भिक विवरण सार्वजनिक गरेको छ। हनुमाननगर कङ्कालिनी नगरपालिकाको बारुण यन्त्र, मधेस प्रदेश प्रहरी तालिम केन्द्र राजविराजबाट खटिएको टोली तथा स्थानीयवासीको सक्रियतामा आगो नियन्त्रणमा ल्याइएको थियो। घटनापछि प्रभावित परिवार खुला आकाशमुनि बस्न बाध्य बनेका छन् भने स्थानीय तहसँग तत्काल राहत र पुनःस्थापनाको माग गरिएको छ।