सरकार गठन भएको छोटो समयमै मन्त्रिपरिषद् भित्र विवाद चुलिँदा प्रधानमन्त्री बालेन्द्र शाह ले श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री दीपककुमार साह लाई पदबाट हटाउने निर्णय लिनुभएको छ।
स्वास्थ्य बीमा बोर्डमा भएको नियुक्ति विवाद सार्वजनिक भएसँगै यो निर्णय आएको हो। विशेषगरी निष्क्रिय रहेको बोर्डमा मन्त्री साहले आफ्नी पत्नीलाई संलग्न गराएको आरोपपछि सत्ता गठबन्धनभित्रै दबाब बढेको थियो।
सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टी ले आन्तरिक छानबिनपछि मन्त्री साहमाथि पदको दुरुपयोग भएको निष्कर्ष निकालेको थियो। त्यसपछि पार्टी सभापति रवि लामिछाने ले औपचारिक रूपमा प्रधानमन्त्रीलाई कारबाहीका लागि सिफारिश गर्नुभएको थियो।
पार्टीको विधानअनुसार ‘राइट टु रिकल’ प्रावधान प्रयोग गर्दै मन्त्रीलाई जिम्मेवारीबाट फिर्ता बोलाइएको हो। स्रोतका अनुसार पार्टी अनुशासन समितिको प्रतिवेदनपछि यो कदम चालिएको हो, जसले सरकारभित्र सुशासन र पारदर्शितामा जोड दिएको संकेत गर्छ।
यस्तै, स्वास्थ्य मन्त्रालयको कार्यसम्पादनप्रति असन्तुष्टि जनाउँदै निशा मेहता लाई पनि प्रधानमन्त्रीले चेतावनी दिनुभएको छ। उनी समानुपातिक प्रणालीबाट प्रतिनिधित्व गर्ने मन्त्री हुन्।
यो घटनाले सरकार गठन भएको छोटो अवधिमै नै मन्त्रीहरूको कार्यशैलीमाथि कडाइ सुरु भएको संकेत दिएको छ। साथै, सत्तारुढ दलभित्रै अनुशासन र जवाफदेहितालाई प्राथमिकता दिइएको सन्देश पनि गएको राजनीतिक विश्लेषकहरू बताउँछन्।