भक्तपुर– ऐतिहासिक एवं सांस्कृतिक महत्वको प्रसिद्ध बिस्का जात्रा आजबाट भक्तपुरमा हर्षोल्लासका साथ सुरु भएको छ। नयाँ वर्ष २०८३ को आगमनसँगै मनाइने यो परम्परागत जात्रा टौमढीस्थित प्रसिद्ध ङातापोल मन्दिर अगाडिबाट भैरवनाथको रथ तानेर विधिवत रूपमा आरम्भ गरिएको हो।
आठ रात नौ दिनसम्म चल्ने यस जात्राको पहिलो दिन भैरवनाथ र भद्रकालीको रथलाई 'ह्युँय ह्युँय' को स्वरले गुञ्जायमान बनाउँदै हजारौँ श्रद्धालुहरूले तानेका छन्। रथलाई नगरको माथिल्लो टोल (थने) र तल्लो टोल (क्वने) का बासिन्दाहरूले आ–आफ्नो क्षेत्रतर्फ लैजाने प्रतिस्पर्धात्मक तानातानले जात्रामा विशेष रौनक थपेको छ। यो दृश्य अवलोकन गर्न काठमाडौँ उपत्यका र छिमेकी जिल्लाहरूबाट ठूलो संख्यामा जनसागर ओर्लिएको छ।
पौराणिक मान्यता अनुसार दुई वटा नाग मारिएको खुसीयालीमा मनाइने यो जात्रा भक्तपुरको जीवन्त कला र इतिहासको प्रतिविम्ब हो। जात्राको मुख्य आकर्षण मानिने 'ल्योसिं द्यो' (लिङ्गो) उठाउने कार्य चैतको अन्तिम दिन र ढाल्ने कार्य वैशाख १ गते सम्पन्न हुनेछ।
जात्रालाई सभ्य र सुरक्षित बनाउन स्थानीय प्रशासनले विशेष कडा सुरक्षा व्यवस्था मिलाएको छ। सम्भावित विवाद र झडप रोक्न मदिरा निषेध गरिनुका साथै सीसीटीभी क्यामेरा मार्फत निगरानी बढाइएको छ। स्थानीय क्लब र स्वयंसेवकहरूको सक्रियताले जात्रालाई थप व्यवस्थित बनाउन मद्दत पुगेको छ। नेवारी बाजागाजा र सांस्कृतिक उमङ्गका बीच सुरु भएको यो जात्रा आगामी वैशाख ५ गते भैरवको रथलाई पुनः टौमढी पुर्याएर समापन गरिनेछ।