पोखराको प्रसिद्ध पर्यटकीय स्थल फेवातालमा पौडी खेल्ने क्रममा डुबेर आज एक बालकको ज्यान गएको छ। पोखरा महानगरपालिका–१८ खपौदीस्थित तालको किनारामा पौडी खेल्न गएका १० वर्षीय आरेस लामाको डुबेर मृत्यु भएको हो। बिहान पौडी खेल्ने क्रममा बालक बेपत्ता भएपछि उद्धारका लागि सशस्त्र प्रहरी बलको गोताखोर टोली परिचालन गरिएको थियो।
सशस्त्र प्रहरी बल नेपाल कालिका गण पोखराका अनुसार, बालक डुबेको सूचना प्राप्त हुनासाथ सात जनाको विशेष गोताखोर टोली घटनास्थलमा खटिएको थियो। टोलीले बालकलाई तालबाट उद्धार गरी तत्कालै उपचारका लागि नजिकैको अस्पताल पुर्याएको थियो। यद्यपि, चिकित्सकहरूले उनलाई दिउँसो १२:१५ बजे मृत घोषणा गरेका थिए।
गर्मी बढेसँगै तालतलैया र नदीमा पौडी खेल्न जाने क्रम बढेकाले विशेष सावधानी अपनाउन र बालबालिकालाई अभिभावकको निगरानी बिना पानीको स्रोत नजिक नपठाउन सुरक्षा निकायले आग्रह गरेको छ। मृतक बालक स्थानीय खपौदीकै बासिन्दा रहेको प्रहरीले जनाएको छ।