काठमाडौं । भोटेकोशी–त्रिशूली बाढीबाट भएको क्षतिलाई जलवायु परिवर्तनसँग जोड्दै नेपालले संयुक्त राष्ट्रसंघको ‘लस एन्ड ड्यामेज’ कोषबाट माग गरेको २ करोड अमेरिकी डलर सहायता दाबीलाई लाङटाङमा भएका दुई वैज्ञानिक अध्ययनले थप आधार दिन सक्ने देखिएको छ।
लाङटाङको लिरूङ हिमालमा भदौ १० गते चट्टानी पहाड र हिमनदी खसेर ठूलो विपद् निम्तिएको थियो। त्यस घटनाको पृष्ठभूमिमा असामान्य तापक्रम, हिमनदीको तीव्र क्षयीकरण र वर्षाको स्वरूपमा आएको परिवर्तनको भूमिका रहेको दुई छुट्टाछुट्टै अनुसन्धानले देखाएका छन्।
‘वर्ल्ड वेदर एट्रिब्युसन’का अनुसन्धानकर्ताहरूका अनुसार लाङटाङ क्षेत्रमा अगस्ट महिनाको औसत तापक्रम सामान्यभन्दा करिब ५ डिग्री सेल्सियससम्म बढी थियो। अध्ययनले सन् २००० यता त्यहाँका हिमनदी प्रतिवर्ष औसत आधा मिटर पातलिँदै गएको र सन् २०१० पछि यो प्रक्रिया अझ तीव्र भएको उल्लेख गरेको छ।
हिमनदी पातलिँदा चट्टानी पहाडलाई स्थिर राख्ने बरफको आधार कमजोर हुने र त्यसका चिरामा जमेको बरफसमेत पग्लिँदा पहाड अस्थिर बन्न सक्ने अनुसन्धानकर्ताहरूको निष्कर्ष छ। त्यसमाथि हिमपातको सट्टा वर्षा हुँदा चट्टानका चिरामा पानी पसेर थप दबाब सिर्जना गर्न सक्ने उनीहरूको भनाइ छ।
अमेरिकाको बर्क्ले अर्थका प्रमुख वैज्ञानिक रोबर्ट रोह्डले गरेको अर्को अध्ययनले पनि घटनाअघि अगस्ट २१ देखि २६ सम्म लाङटाङ क्षेत्रमा असाधारण गर्मी देखिएको जनाएको छ। उनका अनुसार उक्त अवधिको तापक्रम विगतको तुलनामा करिब १.८ डिग्री सेल्सियस बढी थियो।
नेपालले यही वैज्ञानिक आधारलाई प्रयोग गर्दै बाढी तथा त्यसबाट भएको क्षति जलवायु परिवर्तनसँग सम्बन्धित रहेको प्रमाणित गर्ने प्रयास गरिरहेको छ। कोषले भने नेपालको दाबी अघि बढाउन स्याटलाइट तस्बिर, तथ्यांक र क्षतिको विस्तृत मूल्यांकनलगायत प्रमाण मागेको छ।
हालसम्म कोषमा ठूलो रकमको माग भए पनि उपलब्ध रकम सीमित रहेकाले नेपालले सहायता पाउने प्रक्रिया सहज नहुने देखिएको छ। कोषले नेपालको आवेदनबारे आगामी बैठकमा छलफल गर्ने तयारी गरेको छ।
प्रतिक्रियाहरू (०)
कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया पोस्ट गर्नुहोस्!
आफ्नो प्रतिक्रिया छोड्नुहोस्