काठमाडौं । तेस्रो चरणको कोलोन क्यान्सरलाई सफलतापूर्वक पराजित गरेकी मोडल तथा सामाजिक अभियन्ता डली गुरुङ याक्थुम्बा ‘पाँचौँ मिसेस नेपाल युनिभर्स–२०२६’ घोषित भएकी छन्। ललितपुरको झम्सिखेलस्थित लन्डन फेसन हाउसद्वारा आयोजित विशेष क्राउन समारोहमा उनलाई आधिकारिक रूपमा ताज पहिर्याइएको हो।
समारोहमा ललितपुर महानगरपालिकाकी उपप्रमुख मञ्जली शाक्य र मिसेस नेपाल युनिभर्सकी निर्देशक तथा कार्यक्रम आयोजक मनीषा डंगोल श्रेष्ठले संयुक्त रूपमा डलीलाई ताज पहिर्याएका थिए। डली नेपालकी पहिलो टेलिभिजन (भिजुअल) विज्ञापन मोडलका रूपमा समेत परिचित छन्। उनले २०४० र २०५० को दशकमा विज्ञापन तथा फेसन मोडलिङ क्षेत्रमा सक्रिय भूमिका निर्वाह गरेकी थिइन्। नेपालमा निर्माण गरिएको पहिलो भिडियो विज्ञापनमा समेत उनले अभिनय गरेकी थिइन्।
तीन सन्तानकी आमा डलीले अब आगामी अक्टोबरमा आयोजना हुने ‘मिसेस युनिभर्स २०२६’ मा नेपालको प्रतिनिधित्व गर्नेछिन्। समारोहलाई सम्बोधन गर्दै उनले क्यान्सरमाथि विजय हासिल गरेपछि जीवनप्रतिको दृष्टिकोण अझ सकारात्मक बनेको बताइन्। उनले आफ्ना पति तथा चर्चित ब्यान्ड ‘१९७४ एडी’का गिटारवादक निराकार याक्थुम्बा, आफ्ना सन्तान र सासू इन्दिरा याक्थुम्बाबाट निरन्तर प्रेरणा र हौसला पाएको उल्लेख गरिन्।
डलीले अन्तर्राष्ट्रिय मञ्चमार्फत नेपाली महिलाको क्षमता, आत्मविश्वास र पहिचानलाई विश्वसामु नयाँ ढंगले प्रस्तुत गर्ने आफ्नो लक्ष्य रहेको बताइन्। उनले आफूले पाएको यो अवसरलाई व्यक्तिगत उपलब्धिमात्र नभई सम्पूर्ण नेपाली महिलाको प्रतिनिधित्व गर्ने जिम्मेवारीका रूपमा लिएको धारणा व्यक्त गरिन्।
कार्यक्रममा मिसेस नेपाल युनिभर्सकी निर्देशक मनीषा डंगोल श्रेष्ठले संघर्ष, आत्मबल र समर्पणका कारण डली यस उपाधिको योग्य बनेको बताउँदै अन्तर्राष्ट्रिय प्रतियोगितामा नेपालका लागि उत्कृष्ट नतिजा ल्याउने विश्वास व्यक्त गरिन्। सहभागीहरूले पनि डलीको सफलताको प्रशंसा गर्दै आगामी प्रतियोगिताका लागि शुभकामना व्यक्त गरेका थिए।
प्रतिक्रियाहरू (०)
कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया पोस्ट गर्नुहोस्!
आफ्नो प्रतिक्रिया छोड्नुहोस्