अमेरिका र इरानबीच लामो समयदेखि चलिरहेको तनावपूर्ण युद्ध अन्त्यतर्फ उन्मुख भएको संकेत देखिएको छ। दुवै देशबीच १४ बुँदे एक पृष्ठीय प्रारम्भिक सम्झौता हुन लागेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन्। मध्यस्थकर्ताको रूपमा पाकिस्तानले भूमिका निर्वाह गर्दै आएको छ र स्रोतहरूका अनुसार सम्झौता छिट्टै टुंगिन सक्ने सम्भावना रहेको छ।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सामाजिक सञ्जालमार्फत “ठूलो प्रगति” भएको दाबी गर्दै इरान सहमत भएमा युद्ध अन्त्य हुने संकेत दिएका छन्। उनले फारसको खाडीस्थित Strait of Hormuz खुला गर्न सुरु गरिएको नौसैनिक अभियान पनि स्थगित गरिएको बताएका छन्।
सम्झौता कार्यान्वयन भएमा ३० दिनभित्र विस्तृत वार्ता सुरु हुनेछ। यसमा अमेरिकाले इरानमाथि लगाएका प्रतिबन्धहरू हटाउने, इरानका रोकिएका सम्पत्ति फुकुवा गर्ने, साथै इरानले आफ्नो आणविक कार्यक्रम सीमित गर्ने विषय समेटिने अपेक्षा गरिएको छ। यद्यपि, इरानको मिसाइल कार्यक्रम र मध्यपूर्वमा उसले समर्थन गर्दै आएका समूहबारे भने प्रारम्भिक सम्झौतामा स्पष्ट उल्लेख छैन।
इरानका विदेशमन्त्री अब्बास अराक्चीले “न्यायपूर्ण र व्यापक सम्झौता” आवश्यक रहेको बताएका छन्। उनले इरानले आफ्ना राष्ट्रिय हितमा सम्झौता गर्ने स्पष्ट संकेत दिएका छन्।
यस सम्भावित सम्झौताले विश्व बजारमा सकारात्मक प्रभाव पारेको छ। कच्चा तेलको मूल्य करिब ११ प्रतिशतले घटेको छ भने अन्तर्राष्ट्रिय सेयर बजारमा वृद्धि देखिएको छ। युद्धका कारण अवरुद्ध भएको हर्मुज जलडमरू मार्ग पुनः खुल्ने आशाले विश्व व्यापारमा सुधार आउने अपेक्षा गरिएको छ।
तर, सम्झौता नभएमा तनाव अझ बढ्ने चेतावनी पनि दिइएको छ, जसले क्षेत्रीय सुरक्षा र विश्व अर्थतन्त्रमा गम्भीर असर पार्न सक्ने देखिन्छ।