काठमाडौँ महानगरद्वारा होस्टेल अनुगमन तीव्र, मापदण्ड नपुगे बन्दसम्म कारबाही

nepal news portal

काठमाडौँ । काठमाडौँ महानगरपालिका ले आफ्नो क्षेत्रभित्र सञ्चालित होस्टेलहरूको सेवा गुणस्तर, सुरक्षा तथा व्यवस्थापन सुधार गर्ने उद्देश्यले व्यापक अनुगमन अभियान सुरु गरेको छ। महानगरको शिक्षा विभागको नेतृत्वमा पाँच वटा छुट्टाछुट्टै टोली गठन गरी विभिन्न स्थानमा स्थलगत निरीक्षण थालिएको हो।

महानगरका अनुसार काठमाडौँभित्र रहेका होस्टेलहरूमा करिब ४० हजारभन्दा बढी व्यक्तिले सेवा लिइरहेका छन्। ठूलो संख्यामा नागरिक बसोबास गर्ने यस्ता आवासीय संरचनामा न्यूनतम मापदण्ड, सरसफाइ, सुरक्षा र आधारभूत सेवाको अवस्था मूल्यांकन गर्न यो अभियान अघि बढाइएको बताइएको छ।

अनुगमनका क्रममा मापदण्ड पूरा गरेका होस्टेलहरूलाई कानुनी रूपमा दर्ता गरी नियमित सञ्चालनमा ल्याइनेछ भने सुधार गर्न सकिने अवस्थाका संस्थालाई निश्चित समयसीमा दिइनेछ। तर, न्यूनतम आधारसमेत पूरा नगर्ने होस्टेलहरूलाई बन्दसम्मको कारबाही गरिने महानगरले चेतावनी दिएको छ।

महानगरकी कार्यवाहक प्रमुख सुनिता डंगोल ले अनुगमनलाई परिणाममुखी बनाउन स्पष्ट कार्ययोजना तयार गरिएको बताउँदै समन्वयात्मक रूपमा निरीक्षण प्रक्रिया अगाडि बढाइने जानकारी दिएकी छन्। दोहोरिने निरीक्षण रोक्न र प्रभावकारी अनुगमनका लागि राजस्व विभागका प्रतिनिधिलाई समेत टोलीमा समावेश गरिएको छ।

अनुगमन टोलीमा शिक्षा अधिकृत, जनप्रतिनिधि, होस्टेल व्यवसायीका प्रतिनिधि, खाद्य प्रविधि विज्ञ तथा अनुगमन एकाइका सदस्यहरू सहभागी छन्। टोलीहरूलाई विभिन्न वडामा विभाजन गरी क्षेत्रगत रूपमा निरीक्षणको जिम्मेवारी दिइएको छ।

शिक्षा अधिकारी नमराज ढकालका अनुसार ‘छात्राबास सञ्चालन सम्बन्धी मापदण्ड, २०८०’ को कार्यान्वयन सुनिश्चित गर्दै सुरक्षित, स्वच्छ र मर्यादित आवासीय वातावरण निर्माण गर्नु अभियानको मुख्य उद्देश्य हो।

महानगरले जारी मापदण्डअनुसार पर्याप्त शौचालय, स्वच्छ खानेपानी, नियमित विद्युत् आपूर्ति, सरसफाइ, अग्नि सुरक्षा उपकरण, सिसिटिभी निगरानी, आधारभूत स्वास्थ्य सामग्री तथा अध्ययनमैत्री वातावरण अनिवार्य गरिएको छ। साथै, लागूपदार्थ, मदिराजन्य वस्तु तथा अन्य अवाञ्छित गतिविधि नियन्त्रणमा कडाइ गरिने पनि जनाइएको छ।