राजमार्गमा ट्राफिक कडाइ, नियम उल्लङ्घन गर्नेलाई कारबाही तीव्र

nepal news portal

पथलैया, बारा — नेपाल सरकार, गृह मन्त्रालय अन्तर्गत नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय (कार्य शाखा) ले सवारी चालक अनुमतिपत्र (लाइसेन्स) निलम्बन सम्बन्धी प्रक्रिया थप कडाइ गर्ने निर्णय गरेको छ। कार्यालयले जारी गरेको प्रेस विज्ञप्तिअनुसार ट्राफिक नियम उल्लङ्घनमा बारम्बार संलग्न चालकहरूमाथि कडा निगरानी र कारबाही अघि बढाइने भएको हो।

सवारी तथा यातायात व्यवस्था ऐन, २०४९ को व्यवस्था अनुसार कुनै चालकले पाँच पटकभन्दा बढी ट्राफिक नियम उल्लङ्घन गरेको प्रमाणित भएमा सम्बन्धित अधिकारीले उक्त चालकको लाइसेन्स छ महिनासम्मका लागि निलम्बन गर्न सक्ने प्रावधान रहेको छ। सोही व्यवस्थालाई प्रभावकारी रूपमा कार्यान्वयन गर्न कार्यालयले ‘ट्राफिक भायोलेसन रेकर्ड सिस्टम’ (TVRS) सफ्टवेयरमार्फत विवरण अद्यावधिक गरी कारबाही प्रक्रिया अघि बढाएको जनाएको छ।

हालसम्मको विवरणअनुसार पाँच पटकभन्दा बढी नियम उल्लङ्घन गरेका ८ जना चालकहरूको लाइसेन्स निलम्बनका लागि यातायात व्यवस्था कार्यालय, वीरगञ्ज पठाइसकिएको छ। यस्तै, मधेश प्रदेश अन्तर्गतका विभिन्न ट्राफिक प्रहरी कार्यालयहरूबाट पनि यस्ता चालकहरूको विवरण संकलन गरी कारबाही प्रक्रिया अघि बढाइने जनाइएको छ।

ट्राफिक प्रहरीले चालकहरूलाई नियमको पालना गर्न आग्रह गर्दै उल्लङ्घन दोहोरिएमा कडा कारबाही हुने चेतावनी दिएको छ। सडक सुरक्षालाई प्राथमिकतामा राख्दै यस्तो कदम चालिएको जनाइएको छ। साथै, ट्राफिक नियम पालना नगर्ने प्रवृत्तिले दुर्घटनाको जोखिम बढाउने भएकाले सबै सवारी चालकलाई सचेत रहन अपिल गरिएको छ।

कार्यालयका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक विकल बहादुर सिंहले नियम उल्लङ्घनमा शून्य सहनशीलताको नीति अपनाइने बताए। उनले सबै चालकलाई सुरक्षित र जिम्मेवार ढंगले सवारी साधन चलाउन आग्रह गरेका छन्।