बाढीको मौका छोपेर शवबाट गहना निकाल्ने र ग्यास सिलिन्डर खोस्नेहरू प्रहरीको निगरानीमा

काठमाडौं । प्राकृतिक विपत्तिले जनजीवन अस्तव्यस्त बनिरहेका बेला मानवीय संवेदना र सामाजिक मर्यादाविपरीतका गतिविधि हुन थालेपछि प्रहरीले निगरानी बढाएको छ। बाढी तथा डुबानको मौका छोपेर शवबाट गहना निकाल्ने, राहत तथा अत्यावश्यक सामग्री खोसाखोस गर्ने र सामाजिक सञ्जालमा विभत्स दृश्य फैलाउने गतिविधिमाथि प्रहरीले अनुसन्धान थालेको जनाएको छ।

केन्द्रीय प्रहरी प्रवक्ता डीआईजी अविनारायण काफ्लेका अनुसार बाढीपछि सामाजिक सञ्जालमा सार्वजनिक भएका अस्वाभाविक गतिविधिका भिडियो तथा घटनालाई प्रहरीले गम्भीरतापूर्वक लिएको छ। प्रचलित कानुन, सामाजिक तथा सांस्कृतिक मर्यादाविपरीतका गतिविधिमा संलग्न जोसुकै भए पनि कानुनी दायरामा ल्याइने उनले बताएका छन्।

पछिल्लो समय बाढीले बगाएर ल्याएको शवबाट सुनका गहना निकाल्दै गरेको भिडियो सामाजिक सञ्जालमा भाइरल भएपछि त्यसमा संलग्न व्यक्तिहरूको पहिचान र घटनाको वास्तविकताबारे प्रहरीले जानकारी संकलन गरिरहेको छ। विपत्तिमा ज्यान गुमाएका व्यक्तिको शवसमेत लुटपाटको माध्यम बन्नु गम्भीर मानवीय तथा कानुनी विषय भएको प्रहरीको भनाइ छ।

यसैगरी बुधबार नारायणी नदी क्षेत्रमा बाढीको पानी प्रवेश गरेपछि ग्यास सिलिन्डर खोसाखोस भएको दृश्य पनि सामाजिक सञ्जालमा फैलिएको थियो। विपद्को समयमा अत्यावश्यक सामग्रीमा हुने लुछाचुँडी तथा अव्यवस्थामाथि समेत प्रहरीको निगरानी रहेको जनाइएको छ।

प्रहरीका अनुसार अहिले मुख्य प्राथमिकता उद्धार, घाइतेको उपचार, राहत वितरण तथा मृतकको पहिचान र शव व्यवस्थापनमा केन्द्रित छ। तत्कालीन उद्धार कार्यपछि यस्ता घटनामा संलग्न व्यक्तिमाथि विस्तृत अनुसन्धान गरी कानुनअनुसार कारबाही अघि बढाइनेछ।

प्रहरीले विपद्का बेला गलत सूचना, अफवाह र भय सिर्जना गर्ने सामग्री फैलाउनेहरूमाथि पनि निगरानी गरिरहेको जनाएको छ। भ्यूज वा भाइरल हुने उद्देश्यले मृतक तथा पीडितका संवेदनशील र विभत्स दृश्य सार्वजनिक गर्दा पीडित परिवारको भावनामा चोट पुग्नुका साथै उद्धार तथा राहत कार्यमा समेत नकारात्मक असर पर्न सक्ने प्रहरीको भनाइ छ।

प्रवक्ता काफ्लेले विपत्तिको समयमा नागरिकको सुरक्षा र उद्धार पहिलो प्राथमिकता भएकाले सबैलाई संयमित भएर सही सूचना मात्र प्रवाह गर्न आग्रह गरेका छन्।

प्रतिक्रियाहरू (०)

कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया पोस्ट गर्नुहोस्!

आफ्नो प्रतिक्रिया छोड्नुहोस्