अमेरिकाको राजधानी वासिङ्टन डीसीस्थित ह्वाइट हाउस बाहिर शनिबार साँझ भएको गोलीकाण्डमा एक बन्दुकधारी युवक मारिएका छन्। अमेरिकी सुरक्षा निकायका अनुसार हतियार बोकेर आएका २१ वर्षीय नासिरे बेस्टले ह्वाइट हाउस नजिक रहेको अमेरिकी सिक्रेट सर्भिसको सुरक्षा जाँच चौकीतर्फ अन्धाधुन्ध गोली चलाएका थिए। त्यसपछि सिक्रेट सर्भिसका अधिकारीहरूले जवाफी फायरिङ गर्दा उनी घाइते भएका थिए र अस्पताल लैजाँदै गर्दा मृत्यु भएको हो।
घटना स्थानीय समयअनुसार साँझ करिब ६ बजे १७औँ स्ट्रिट र पेन्सिल्भेनिया एभिन्यु क्षेत्र नजिक भएको बताइएको छ। घटनास्थल ह्वाइट हाउससँगै रहेको आइजनहावर कार्यकारी कार्यालय भवन नजिक पर्छ। कानून कार्यान्वयन स्रोतहरूका अनुसार घटनाका क्रममा १५ देखि ३० राउण्डसम्म गोली चलेको थियो।
गोलीकाण्डका बेला अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प ह्वाइट हाउसमै उपस्थित थिए। तर उनी सुरक्षित रहेको र घटनाबाट प्रत्यक्ष प्रभावित नभएको अमेरिकी सिक्रेट सर्भिसले जनाएको छ। घटनापछि केही समयका लागि ह्वाइट हाउस क्षेत्रमा ‘लकडाउन’ गरिएको थियो भने पत्रकार तथा कर्मचारीलाई सुरक्षित स्थानमा सारिएको थियो।
अमेरिकी सञ्चारमाध्यम सीबीएस न्यूजका अनुसार आक्रमणकारी नासिरे बेस्ट यसअघि पनि सिक्रेट सर्भिसको निगरानीमा रहेका व्यक्ति थिए। उनले सन् २०२५ जुलाईमा जबर्जस्ती ह्वाइट हाउस प्रवेश गर्ने प्रयास गरेका थिए। त्यसबेला उनलाई पक्राउ गरी मानसिक स्वास्थ्य उपचारका लागि मनोचिकित्सा वार्डमा पठाइएको स्रोतहरूले बताएका छन्।
घटनामा एक सर्वसाधारण पनि गोली लागेर घाइते भएका छन्। उनलाई कसको गोली लागेको भन्नेबारे अनुसन्धान भइरहेको छ। अमेरिकी संघीय अनुसन्धान ब्युरो एफबीआई र स्थानीय प्रहरी मिलेर घटनाबारे विस्तृत अनुसन्धान गरिरहेका छन्।
प्रतिक्रियाहरू (०)
कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया पोस्ट गर्नुहोस्!
आफ्नो प्रतिक्रिया छोड्नुहोस्