काठमाडौँ । फागुन २१ गते सम्पन्न निर्वाचनबाट चुनिएका प्रतिनिधिसभा सदस्यहरूले आज पद तथा गोपनीयताको शपथ ग्रहण गर्दैछन्। नयाँ संसद भवनको हलमा दिउँसो २ बजे शपथ ग्रहणको भव्य कार्यक्रम तय गरिएको छ।
संसद सचिवालयका अनुसार शपथ लिनुअघि सबै सांसदहरूलाई दिउँसो १२ बजे नै आवश्यक कागजातसहित उपस्थित हुन आग्रह गरिएको छ। सांसदहरूले आफ्नो निर्वाचन प्रमाणपत्र, नेपाली नागरिकताको प्रतिलिपि र फोटोसहित दुई घण्टा अगावै हलमा पुग्नुपर्नेछ।
ज्येष्ठ सदस्य केसीले गराउनेछन् शपथ
प्रतिनिधिसभाका ज्येष्ठ सदस्य अर्जुननरसिंह केसीले अन्य २७४ जना सांसदहरूलाई शपथ गराउने कार्यक्रम छ। ज्येष्ठ सदस्य केसीलाई भने हिजो (बुधबार) नै राष्ट्रपति रामचन्द्र पौडेलले शीतल निवासमा पद तथा गोपनीयताको शपथ गराइसक्नुभएको छ।
विविधताको झल्को: ४७ सांसदले मातृभाषा रोजे
यसपटकको शपथ ग्रहणमा नेपालको सांस्कृतिक विविधताको दृश्य पनि देखिनेछ। संसद सचिवालयका अनुसार कुल २७५ सांसदमध्ये ४७ जनाले नेपाली भाषा बाहेक आफ्नै मातृभाषामा शपथ लिने इच्छा जाहेर गरेका छन्। यसले सदनमा विभिन्न जातजाति र भाषाभाषीको प्रतिनिधित्वलाई अझ प्रस्ट पार्ने देखिन्छ।
सदनको गणित: कुन दलको उपस्थिति कस्तो?
भर्खरै सम्पन्न निर्वाचनको नतिजा अनुसार नयाँ संसदमा दलहरूको समीकरण यस्तो रहेको छ:
राजनीतिक दल | प्राप्त सिट संख्या |
| राष्ट्रिय स्वतन्त्र पार्टी | १८२ |
| नेपाली कांग्रेस | ३८ |
| नेकपा (एमाले) | २५ |
| नेपाली कम्युनिस्ट पार्टी | १७ |
| श्रम संस्कृति पार्टी | ७ |
| राष्ट्रिय प्रजातन्त्र पार्टी | ५ |