काठमाडौं महानगरपालिका वडा नं. २२ मा आगामी जेठ २ गते “२२ वडा महोत्सव २०८३” आयोजना हुने भएको छ। स्थानीय कला, संस्कृति, भाषा तथा सम्पदाको प्रवर्द्धन गर्ने उद्देश्यले आयोजना गर्न लागिएको महोत्सवमा चर्चित सांगीतिक समूह Kutumba तथा Deepak Rhythm Bajracharya ब्यान्डको विशेष प्रस्तुति रहने आयोजकले जनाएको छ।
महोत्सवमा नेवाः खाना स्टल, सांस्कृतिक र्याली, हस्तकला तथा घरेलु उत्पादन प्रदर्शनी, रक्तदान कार्यक्रम, धिमे प्रतियोगिता, बाल उद्यान, “सम्पदा खोजौं” अभियान, वाकाथन, पुस्तक स्टल तथा विविध भाषा–साहित्य वाचन एवं सम्मान कार्यक्रम सञ्चालन गरिनेछ।
त्यसैगरी “२० वडा काम्भान” र ऐतिहासिक तस्बिर प्रदर्शनी पनि महोत्सवका आकर्षणका रूपमा रहने बताइएको छ। स्थानीय समुदाय, कला–संस्कृति र पर्यटन प्रवर्द्धनलाई जोड दिँदै आयोजना हुने महोत्सवमा सर्वसाधारणको उल्लेख्य सहभागिता रहने अपेक्षा गरिएको छ।